काठमाडौं— सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला भएको र दोषीलाई अहिलेसम्म कारबाही नगरीएको भन्दै संघर्ष समितिले कडा असहमति जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्यहरूले घटनामा किटानी जाहेरी दिँदासमेत नलिने र हत्यारालाई बचाउने प्रयास भइरहेको बताएका छन्।

अभियन्ता जीवन तिरुवाले भने, “महिलाहरूको न्यायका लागि निरन्तर संघर्ष आवश्यक छ। इनिशाले न्याय नपाएसम्म उनको शव उठाइने छैन।” उनले राज्यले पीडितलाई न्याय नदिने अवस्था रहँदासम्म संघर्ष समिति निरन्तर आन्दोलनमा रहने चेतावनी दिइन्।

समितिले भोलि, चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गर्ने योजना बनाएको छ। उनीहरूले बलात्कारपछि हत्या भएका घटनामा प्रहरी प्रशासनले कडाईका साथ अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

कार्यक्रममा बोल्दै सविना सिंह ठकुरीले विगत १७ दिनदेखि सडकमा प्रदर्शन गर्दै आएको स्मरण गराइन्। उनले भनिन्, “१७ दिनसम्म पनि हामीले इनिशा विक बहिनीको न्यायको अनुभूति गरेका छैनौं। सामाजिक सञ्जालमा गलत रूपमा जबरजस्ती करणी नभएको भनिएको छ, हामी यसको पूर्ण असहमति व्यक्त गर्छौं। हामी १२ जना बलात्कारपछि हत्या भएकी चेलीहरूको न्यायका लागि पनि आवाज उठाइरहन्छौं।”

समितिले छानबिनमा खटिएका एसपी सुधीरराज शाहीको राजीनामा र महिला आयोग अध्यक्षको राजीनामा मागेको छ। सदस्यहरूले  राज्यले न्याय सुनिश्चित नगरेको खण्डमा सडक आन्दोलन अझ सशक्त र निरन्तर रहने चेतावनी दिएका छन्।