एजेन्शि । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले अप्रिल १० मा राजधानी इस्लामाबादमा आमनेसामने वार्ताका लागि अमेरिका–इरान दुवै देशलाई बोलाइएको बताएका छन् ।
पाकिस्तानमा वार्ता हुने, इरानले अघि सार्यो १० बुँदे प्रस्ताव, अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता हुने भएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार उक्त वार्ता तेहरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित हुनेछ ।
इरानले अघि सारेको प्रस्तावमा होर्मुजमा आफ्नो नियन्त्रण कायम रहने र इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने मुख्य माग छन् । दुई साताको युद्धविराममा सहमति भएलगत्तै दुवै पक्ष शुक्रबार वार्ताको टेबुलमा बस्न तयार भएका हुन् ।
इरानले सार्वजानिक गरेको सर्तसहितका १० बुँदे योजनामा के छ?
१. इराक, लेबनान र यमनमा भइरहेको युद्ध पूर्ण रूपमा बन्द गर्ने।
२. इरानमाथि भइरहेको युद्ध पूर्ण रूपमा र स्थायी रूपमा अन्त्य गर्ने, जसमा कुनै समयसीमा नहुने।
३. क्षेत्रमा रहेका सबै द्वन्द्व र संघर्षहरू पूर्ण रूपमा अन्त्य गर्ने।
४. होर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज) पुनः खोल्ने।
५. होर्मुज जलडमरूमा जहाजहरूको आवतजावत स्वतन्त्र र सुरक्षित बनाउन नियम तथा सर्तहरू तय गर्ने।
६. इरानको पुनर्निर्माणका लागि लाग्ने सबै खर्चको पूर्ण क्षतिपूर्ति भुक्तानी गर्ने।
७. इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउने पूर्ण प्रतिबद्धता गर्ने।
८. अमेरिकामा रोक्का राखिएका इरानका पैसा र सम्पत्ति फिर्ता गर्ने।
९. इरानले कुनै पनि प्रकारको आणविक हतियार प्राप्त गर्ने प्रयास नगर्ने पूर्ण प्रतिबद्धता गर्ने।
१०. माथिका सर्तहरू स्वीकृत भएपछि तुरुन्तै सबै मोर्चामा तत्काल युद्धविराम लागू गर्ने।






































