जनकपुर— धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रले दोस्रो चौमासिक समन्वय बैठक सम्पन्न गरेको छ । सो बैठकमा अन्तिम ९ महिनामा उक्त केन्द्रमा आएका बिरामी(पिडितहरुको) तथ्याङ्क प्रस्तुत गरिएको छ भने विद्यमान समस्याहरुको बारेमा छलफल गरिएको छ ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको बैठक कक्षमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार ९ महिनामा एकद्वार संकट व्यवस्थापन केन्द्रमा आएका बिरामी (पिडित)हरु मध्ये ५० प्रतिसत जति मानसिक यातनाबाट पिडित भएकाहरु रहेका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा २०८२ साउन महिना देखि चैतसम्ममा जम्मा ८८१ जना पिडितहरुको आएका छन् । जसमध्ये पुरुषको संख्या २२ मात्र रहेको छ भने महिलाको संख्या ८५९ रहेको छ ।

बैठकमा प्रत्सतुत तथ्यांक अनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी मानसिक यातनाका जम्मा ४०१ पिडितहरु आएका छन । जसमध्ये पुरुषको संख्या १३ रहेको छ भने महिलाको संख्या ३८८ रहेको छ । त्यस्तै, यो अवधिमा अधिकार/श्रोतबाट वञ्चित भएका पिडितको संख्या जम्मा २८३ रहेको छ । जसमध्ये पुरुषको जम्मा ८ जना रहेका छन् भने महिला २७५ जना रहेका छन् ।

त्यस्तै, रुढीवादीप्रथा –दाइजो, भ्रुणहत्या, जात विभेदबाट पिडित हुनेहरुमा जम्मा २२ जना महिला मात्र रहेका छन् ।

त्यस्तै, शारिरीक चोटपटक लागेर उक्त केन्द्रमा आउनेहरुको संख्या ७९ रहेको छ । ती सबै महिला मात्र रहेका छन् ।

त्यस्तै, यौनजन्य दुव्र्यवहार हुनेहरुमा ८३ जना महिला र १ जना पुरुष गरी जम्मा ८४ जना रहेका छन् ।

यता, जबरजस्तीकरणीको सीकारभएकोमा १२ जना महिला रहेको ओसीएमसीद्वारा प्रस्तुत तथ्यांकमा उल्लेख रहेको छ ।

ओसीएमसीमा आउनेहरुमध्ये सबै भन्दा बढी १९ देखि ४९ वर्षसम्मका रहेका छन् ।

९ महिनामा ओसीएमसीबाट प्रेपण गरी जम्मा ३९१ जनालाई अस्पतालमा उपचारका लागि पठाइएको छ भने १२ जनालाई प्रहरीमा पठाइएको जानकारी गराइएको छ । त्यस्तै, १७ जनालाई सेफहाउसमा, १५ जनालाई वकील कहाँ, ७४ जनालाई मानसिक जाँचका लागि ८ जनालाई पुर्नस्थापनकालागि र सबैभन्दा बढी ५०६ जनालाई मनोपरामर्श सेवाका लागि पठाइएको अस्पतालका ओसीएमसी डिपार्टमेन्टले जानकारी गराएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ओसीएमसीमा आएका हिंसा प्रभावितहरुमध्यै सबैभन्दा बढी धनुषा जिल्लाका ५१७ जना रहेका छन् । त्यस्तै, महोत्तरीको ६० जना, सिरहाको ३ जना, सप्तरी र सर्लाहीको २/२ जना रहेका छन् । त्यस्तै, झापा, पर्सा, बारा, कास्की, सिन्धुली, रौतहट, काठमान्डौ, मकवानपुर र नुवाकोटका १/१ जना रहेका छन् ।

गत वर्ष यो अवधिमा जम्मा १५७२ जना ओसीएमसीमा आएका थिए । यसले यो वर्ष लैंङ्गिक हिंसा लगायतका सामाजिक अपराधहरुको संख्यामा केही कमी भएको तथ्यांकले दर्शाएको छ ।