-देवेन्द्र के. ढुङगाना
पश्चिम बंगालको राजनीतिक इतिहासमा नक्सलबाडी केवल एउटा भूगोल होइन, एउटा विचारधारात्मक विस्फोटको प्रतीक हो। सन् १९६७ मा सुरु भएको नक्सल आन्दोलनले भारतीय वामपन्थलाई सशस्त्र संघर्षको बाटोमा डोरयायो र राज्यको शक्तिसँग प्रत्यक्ष टकरावमा पुर्यायो। तर समयको चक्र घुम्दै जाँदा त्यही आन्दोलनको प्रभाव क्षेत्र अहिले राजनीतिक रूपमा लगभग निष्क्रिय देखिन्छ। प्रश्न उठ्छ—के वामपन्थ वास्तवमै समाप्त भएको हो, वा उसले नयाँ स्वरूपमा आफूलाई पुनर्संगठित गरिरहेको छ?
आजको सन्दर्भमा हेर्दा, पूर्वी–मध्य भारतमा माओवादी आन्दोलनको प्रभाव उल्लेखनीय रूपमा कमजोर भइसकेको छ। सुरक्षा रणनीति, विकास कार्यक्रम र स्थानीय राजनीतिक समायोजनले गर्दा सशस्त्र विद्रोहको आधारभूमि खस्किएको छ। तर यसको अर्थ वामपन्थी विचारधाराको अन्त्य भने होइन। बरु, यो एउटा रूपान्तरणको चरण हो, जहाँ बन्दुकको ठाउँमा मतपत्रले लिएको छ।
सिलीगुडी करिडोर—जसलाई ‘चिकन नेक’ पनि भनिन्छ—आज पुनः रणनीतिक र राजनीतिक दुवै दृष्टिले केन्द्रमा आएको छ। यो करिडोरले उत्तरपूर्व भारतलाई मुख्य भूभागसँग जोड्ने जीवनरेखा मात्र होइन, राजनीतिक प्रभाव विस्तारको संवेदनशील क्षेत्र पनि हो। नक्सलबाडी आन्दोलनको उद्गमस्थल यही क्षेत्रमा पर्ने भएकाले यसको प्रतीकात्मक महत्त्व अझै जीवित छ।
हालको विधानसभा चुनावमा वामपन्थी दलहरू, विशेषगरी भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) र कांग्रेससँगको गठबन्धनमार्फत, पुनः आफ्नो हराएको आधार फिर्ता ल्याउने प्रयासमा छन्। यो प्रयास केवल चुनावी अंकगणित होइन, अस्तित्वको लडाइँ हो। एक समय बंगालको सत्ता सञ्चालन गरेको वाम मोर्चा आज किनारामा पुगेको छ, र यही सन्दर्भमा उनीहरूको सक्रियता बुझ्नुपर्छ।
रणनीतिक रूपमा हेर्दा, वामपन्थीहरू अब प्रत्यक्ष टकरावको राजनीति छोडेर सहकार्य र गठबन्धनको बाटोमा छन्। सिलीगुडी करिडोर, डुवर्स र उत्तर–पूर्वी हिमाली जिल्लाहरूमा उनीहरूले स्थानीय जातीय, भाषिक र आर्थिक असन्तुष्टिलाई राजनीतिक अवसरका रूपमा प्रयोग गर्न खोजिरहेका छन्। चिया बगानका श्रमिक, आदिवासी समुदाय र सीमावर्ती क्षेत्रका बासिन्दाहरू अझै पनि विकास र प्रतिनिधित्वको अभाव महसुस गर्छन्—यही खाली ठाउँमा वामपन्थीहरू पुनः प्रवेश गर्न चाहन्छन्।
तर चुनौतीहरू कम छैनन्। एकातिर ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले क्षेत्रीय पहिचान र कल्याणकारी योजनामार्फत आफ्नो पकड मजबुत बनाएको छ। अर्कोतर्फ नरेन्द्र मोदी नेतृत्वको भाजपा राष्ट्रवाद, सुरक्षा र ‘जनसंख्या परिवर्तन’ जस्ता मुद्दा उठाएर ध्रुवीकरणको राजनीति गरिरहेको छ। यस्तो अवस्थामा वामपन्थीहरूका लागि आफ्नो छुट्टै पहिचान स्थापित गर्नु कठिन बनेको छ।
वामपन्थको मुख्य कमजोरी भनेको समयअनुकूल वैचारिक लचिलोपनको अभाव हो। विगतमा जब विश्वभर कम्युनिस्ट आन्दोलनले सुधार र उदारीकरणतर्फ मोड लियो, भारतीय वामपन्थ पुरानै ढाँचामा अडिग रह्यो। बुद्धदेब भट्टचार्यले औद्योगीकरणमार्फत परिवर्तन ल्याउने प्रयास गरे पनि पार्टीभित्रै विरोध भयो। सिंगूर र नन्दीग्रामका आन्दोलनले केवल एउटा परियोजना होइन, वामपन्थको भविष्य नै समाप्त गरिदियो।
आजको चुनावमा वामपन्थीहरूको सक्रियता मुख्यतः दुई तहमा देखिन्छ। पहिलो, संगठन पुनर्निर्माण—स्थानीय स्तरमा कार्यकर्ता पुनः सक्रिय पार्ने प्रयास हो । दोस्रो, वैकल्पिक राजनीतिक विमर्श—ध्रुवीकरण र व्यक्तिवादको राजनीतिबाट अलग वर्गीय र आर्थिक मुद्दा उठाउने प्रयास हो । तर प्रश्न रहिरहन्छ—के यो पर्याप्त छ?
सिलीगुडी करिडोरमा उनीहरूको रणनीति स्पष्ट देखिन्छ। यहाँको भौगोलिक संवेदनशीलता, सीमावर्ती राजनीति र सामाजिक विविधतालाई आधार बनाएर उनीहरूले आफ्नो प्रभाव पुनः विस्तार गर्न खोजिरहेका छन्। तर यो क्षेत्र अहिले भाजपा र तृणमूलबीचको मुख्य प्रतिस्पर्धा केन्द्र बनेको छ, जहाँ वामपन्थ तेस्रो शक्तिका रूपमा सीमित देखिन्छ।
भारतीय राष्ट्रिय राजनीतिमा यसको प्रभाव के पर्छ? छोटो अवधिमा ठूलो परिवर्तन अपेक्षित छैन। तर दीर्घकालीन रूपमा, यदि वामपन्थले आफ्नो रणनीति सफलतापूर्वक कार्यान्वयन गर्न सके, भने उसले पुनः ‘किंगमेकर’को भूमिका खेल्न सक्छ—विशेषगरी गठबन्धन युगमा छलाङ मार्ने छन । संसदमा सानो संख्यामा भए पनि निर्णायक भूमिका खेल्ने सम्भावना अझै बाँकी छ।
अन्ततः, नक्सलबाडीको विरासत केवल इतिहासको पाना होइन, वर्तमानको संकेत पनि हो। सशस्त्र संघर्षबाट संसदीय राजनीतिमा आएको परिवर्तनले वामपन्थलाई नयाँ अवसर दिएको छ—तर त्यो अवसर उपयोग गर्न वैचारिक स्पष्टता, संगठनात्मक शक्ति र समयानुकूल रणनीति आवश्यक छ।
आज भित्तामा लेखिएका क्रान्तिका नाराहरू मेटिँदै गएका छन्, तर राजनीति अझै पनि परिवर्तनशील छ। सिलीगुडी करिडोरमा फेरि एकपटक शक्ति–सन्तुलनको खेल चलिरहेको छ। वामपन्थका लागि यो अन्तिम अवसर हुन सक्छ—इतिहासको स्मृतिबाट बाहिर निस्केर वर्तमानमा आफूलाई पुनः परिभाषित गर्ने छन ।






































