हुम्ला— जटिल स्वास्थ्य समस्यासहित सुत्केरी व्यथामा परेकी हुम्लाको नाम्खा गाउँपालिका–१ हेक्काकी २८ वर्षीया सरिता लामालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ।

लामाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइतबार बेलुका हुम्ला जिल्ला अस्पतालमा उपचार सम्भव नभएको निष्कर्ष निकालिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०/१२० पुगेको थियो। उपचारकै क्रममा उनी बेहोस हुनुका साथै पाँच पटकसम्म झड्का समेत आएको थियो।

डा. तिवारीले गर्भमा रहेको शिशु ३१ हप्ताको मात्र रहेको जानकारी दिँदै भिडियो एक्स–रे परीक्षणमा शिशुको तौल करिब १ हजार २ सय ग्राम मात्रै देखिएको बताए। शिशुको तौल न्यून भएकाले आमा र बच्चा दुवैको थप विशेषज्ञ उपचार आवश्यक रहेको उनले बताए।

दुर्गम हिमाली जिल्ला हुम्लामा स्वास्थ्य सेवा सीमित भएकाले जटिल अवस्थामा रहेका गर्भवती तथा बिरामीको हवाई उद्धार गर्ने क्रम निरन्तर चलिरहेको छ।