'गीत'
-देवेन्द्र के. / (मुखडा)
पानी छुँदा अछूत हुने
कस्तो रहेछ हाम्रो रीत
माया लाउँदा छुत नहुने
लोकले भन्छ अछूत प्रीत।
(अन्तरा १)
जातको पर्खाल अग्लो बनाए,
मनका बाटा थुनेर के भो?
आँखाले देख्यो
एउटै सपना,
समाजले किन
छुट्याएर रोयो?
रगत सबैको रातै हुन्छ,
आँसुको स्वाद उस्तै मिठो।
मनले रोजेको मायालाई,
किन बनायौ
दोषको छिटो?
(मुखडा)
पानी छुँदा अछूत हुने
कस्तो रहेछ हाम्रो रीत
माया लाउँदा छुत नहुने
लोकले भन्छ अछूत प्रीत।
(अन्तरा २)
हात समात्दा फूल फुल्छन्,
मन मुस्काउँछ जूनझैँ रात।
तर गाउँभरि हल्ला चल्छ,
भत्काइदिन्छ
सपनाको साथ।
भन्दछन् धर्म,
भन्दछन् रीत,
तर प्रेमको छुट्टै संसार।
मनको डोरी
कसले चुँडायो?
माया त हो
भगवानको उपहार।
(सेतु)
घृणाले कहिल्यै
जित्दैन जीवन,
प्रेमले लेख्छ
नयाँ इतिहास।
मान्छे मान्छेको
एउटै चिनारी,
मायाभित्रै हुन्छ विश्वास।
समय बदलियो, सोच बदलिउन्,
टुटून् विभेदका
सबै पर्खाल।
अछूत भन्ने शब्द हराओस्,
फक्रियोस् प्रेमको लालिगुराँस।
(अन्तरा ३)
भोलिको बिहानी
उज्यालो बनोस्,
सबैको मुहारमा
हाँसो रहोस्।
जात र थरको
साङ्लो तोडेर,
मानवताले नयाँ
बाटो रोजोस्।
पानी पनि एउटै धर्तीको,
माया पनि एउटै श्वास।
मन सफा भए
पुग्छ आखिर,
प्रेम नै जीवनको
साँचो प्रकाश।
(मुखडा – अन्त्य)
पानी छुँदा अछूत हुने
अब नहोस् यस्तो रीत।
माया लाउँदा छुत नहुने,
यही बनोस्
संसारको प्रीत।
मनले मनलाई
अँगालो हालोस्,
मेटियोस् सबै
भेदको जीत।
मानवताभन्दा ठूलो
केही छैन,
अमर रहोस् अटुट प्रीत l
भद्रपुर-८, सुकृतिनगर






































