एजेन्सी। मध्यपूर्वमा फेरि युद्धको खतरा बढेको छ। अमेरिकाले इरानका रणनीतिक क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै देशबीचको तनाव नयाँ चरणमा पुगेको छ। अमेरिकाले होर्मुज जलडमरू आसपासका इरानी सैन्य लक्ष्यमा हवाई प्रहार गरेको दाबी गरेको छ। वासिङ्टनका अनुसार यो कारबाही इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अब इरानसँग थप वार्ता गर्नु समयको बर्बादी भएको टिप्पणी गर्दै आवश्यक परे अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। यता इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिकाको आक्रमणको जवाफ निर्भीकता र साहसका साथू फर्काइने बताएका छन्। उनले प्रतिक्रिया शब्दले होइन, व्यवहारबाट दिने स्पष्ट पारेका छन्।

तनाव बढेसँगै कतार, बहराइन र कुवेत लगायत खाडी मुलुकहरूले उच्च सुरक्षा सतर्कता अपनाएका छन् भने होर्मुज जलडमरू क्षेत्रमा अन्तर्राष्ट्रिय चासो थप बढेको छ। अमेरिका–इरानबीच फेरि चर्किएको सैन्य तनावले मध्यपूर्व मात्रै होइन, विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ।