एजेन्सी। मध्यपूर्व फेरि युद्धको चपेटामा परेको छ। अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले चार देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै एकै रात ठूलो मिसाइल र ड्रोन हमला गरेको छ। बहराइन, कुवेत, जोर्डन र कतारमा साइरन बज्दा सम्पूर्ण क्षेत्र उच्च सतर्कतामा पुगेको छ।

अमेरिकाले स्ट्रेट अफ हर्मुज क्षेत्रमा भएको हमलाको जिम्मेवारी इरानमाथि लगाउँदै उसका सैन्य अड्डा, रडार प्रणाली र प्रतिरक्षा संरचनामाथि हवाई आक्रमण गरेको थियो। त्यसको प्रतिकारस्वरूप इरानले मध्यपूर्वका चार देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक फ्लीट मुख्यालयमा पटक–पटक साइरन बज्यो। जोर्डन, कुवेत र कतारमा पनि सुरक्षा सतर्कता बढाइयो। जोर्डन र बहराइनले अधिकांश मिसाइल तथा ड्रोन आकाशमै निष्क्रिय पारिएको दाबी गरेका छन् भने कुवेतले तीन ब्यालिस्टिक मिसाइल, एक क्रुज मिसाइल र १० वटा ड्रोन खसालेको जनाएको छ। मिसाइलका अवशेष खस्दा कुवेतमा एक जना घाइते भएका छन्।


उता अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानभर ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। विमानस्थलका धावनमार्ग, मिसाइल प्रक्षेपण स्थल र सैन्य पूर्वाधारलाई निशाना बनाइएको अमेरिकाको दाबी छ। इरानले भने बुशेहर आणविक केन्द्र नजिकै पनि अमेरिकी आक्रमण भएको आरोप लगाएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणबाट कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि हमला गरे त्यसको परिणाम अझ कठोर हुने चेतावनी दिएका छन्। जवाफमा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आक्रमणको जवाफ अनिवार्य हुनेछ भन्दै अमेरिकालाई चुनौती दिएका छन्। यता इरानी विदेशमन्त्रीले साउदी अरेबिया, टर्की, ओमान र पाकिस्तानसँग कूटनीतिक संवाद तीव्र बनाएका छन्। खामेनीको अन्त्येष्टिपछि स्थायी युद्धविराम र शान्ति वार्ताको सम्भावना पनि बलियो बन्दै गएको संकेत देखिएको छ।



मिसाइल र ड्रोन आक्रमण, अमेरिकी प्रतिआक्रमण र कूटनीतिक दौडधुपसँगै मध्यपूर्वको अवस्था अझै तनावपूर्ण छ।