म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका स्थानीय पछिल्ला १० दिनदेखि बिजुलीविहीन जीवन बिताउन बाध्य भएका छन्। चट्याङका कारण दरखोला दोस्रो लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका मुख्य उपकरणमा क्षति पुगेपछि करिब ४ सय घरधुरीको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो।
चट्याङले आयोजनाको नियन्त्रण प्रणालीमा प्रयोग हुने उपकरणमा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको छ। बिग्रिएको उपकरण मर्मतका लागि बुटवल पठाइएकाले सेवा पुनः सञ्चालन हुन अझै केही समय लाग्ने जनाइएको छ।
विद्युत् बन्द भएपछि लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलका स्थानीयको दैनिक जीवन अस्तव्यस्त बनेको छ। साँझ परेपछि पूरा बस्ती अन्धकारमा डुब्ने गरेको छ भने विद्यार्थीको पठनपाठन, घरेलु उद्योग सञ्चालन, वडा कार्यालयको सेवा प्रवाह र साना व्यवसायसमेत प्रभावित भएका छन्।
मोबाइल, ल्यापटप लगायतका विद्युतीय उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सेवामा समेत समस्या देखिएको छ। आवश्यक कामका लागि स्थानीयलाई टाढाटाढा पुगेर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ।
सबैभन्दा विडम्बनाको विषय भने, केन्द्रीय प्रसारण लाइन गाउँसम्म पुगिसकेको भए पनि स्थानीयले त्यसको सुविधा अझै पाउन सकेका छैनन्। गत जेठमै राष्ट्रिय विद्युत् लाइन लुलाङ पुगे पनि घर–घरमा मिटरबक्स जडान र आन्तरिक वायरिङको काम पूरा नभएकाले स्थानीय अझै लघुजलविद्युत्मै निर्भर छन्।
प्राकृतिक विपत्तिका कारण हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको भन्दै स्थानीयले दीर्घकालीन र भरपर्दो विद्युत् व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।






































