काठमाडौं / पहाडबाट खसेको पहिरोले नदी थुन्यो, नदी थुनिएपछि बनेको पानीको दबाबले बाटो खोज्यो र त्यसको परिणाम नेपालमा देखियो—अकल्पनीय बाढीका रूपमा।

तर प्रश्न अब बाढी आयो कि आएन भन्ने होइन। प्रश्न हो—खतरा टरिसक्यो त ?

प्रारम्भिक वैज्ञानिक मूल्याङ्कनअनुसार चीनतर्फको घटनासँग जोडिएको ल्हेन्दे नदीमा बनेको प्राकृतिक अवरोध अझै पूर्ण रूपमा खुलेको छैन। त्यहाँ पानीको ठूलो मात्रा बाँकी रहेकाले अर्को चरणमा पानी एक्कासि निकास भए नेपालतर्फ फेरि बाढीको लहर आउन सक्ने जोखिम औँल्याइएको छ। नेपाल र चीनका वैज्ञानिकबीच भएको प्रारम्भिक छलफलअनुसार बाढीको कारणका रूपमा हिमपहिरोले ल्हेन्दे नदी थुनिनुलाई हेरिएको छ।

प्रारम्भिक रूपमा पहिचान गरिएको सम्भावित क्षेत्र नेपालतर्फको करिब २८.२८१०५१ डिग्री उत्तर र ८५.५४५४०४ डिग्री पूर्व आसपास रहेको बताइएको छ। अझ गम्भीर कुरा त के छ भने—अनुगमनबाट त्यहाँ अझै करिब ७ मिटर गहिरो पानी रहेको बताइएको छ। अर्थात्, पहिलो बाढीले दिएको क्षति नै अन्तिम नहुन सक्छ। नदी थुनिएको छ भने पानी जम्मा हुन्छ। पानी जम्मा भएपछि दबाब बढ्छ।

अवरोध कमजोर भयो भने त्यही पानी अर्को बाढीको लहर बनेर तलतिर आउन सक्छ। यसैकारण नदी किनारमा गएर ‘बाढीको भिडियो’ बनाउने होड अहिले ज्यानकै जोखिम बन्न सक्छ। फोटो खिच्ने कि ज्यान जोगाउने ?

विपद्का बेला सामाजिक सञ्जालमा भिडियो हाल्ने प्रतिस्पर्धा बढ्दो छ। तर नदीको बहाव कति बेला बदलिन्छ, माथिल्लो क्षेत्रमा कति पानी जम्मा छ र प्राकृतिक अवरोध कति बलियो छ भन्ने कुरा आँखाले हेरेर अनुमान गर्न सकिँदैन। त्यसैले अहिले ल्हेन्दे, भोटेकोशी तथा त्यससँग जोडिएका नदी–खोलाका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्नु नै सुरक्षित उपाय हो।

विशेषगरी बाढीको अवस्था हेर्न, फोटो खिच्न वा प्रत्यक्ष प्रसारण गर्न नदीको किनारमा जाने गल्ती नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई सचेत गराउनुपर्ने देखिन्छ।

४.४ म्याग्निच्युडको भूकम्प पनि

यसैबीच अमेरिकी भूगर्भ सर्वेक्षण  (ग्क्न्क्)  का अनुसार बिहान ८ बजेर ३७ मिनेटमा ४।४ म्याग्निच्युडको भूकम्प समेत गएको विवरण सार्वजनिक भएको छ। भूकम्प र बाढीबीच प्रत्यक्ष कारण–सम्बन्ध स्थापित भइसकेको दाबी गर्न मिल्दैन। तर पहाडी क्षेत्रमा पहिरो, हिमपहिरो र प्राकृतिक जलाशयको अवस्था संवेदनशील रहेको समयमा हरेक भौगर्भिक गतिविधिलाई गम्भीरतापूर्वक निगरानी गर्नुपर्ने अवस्था भने छ।

अब राज्यले के गर्ने र?

यो घटना केवल एउटा बाढीको घटना मानेर सकिने विषय होइन। चीनतर्फको प्राकृतिक अवरोधको वास्तविक अवस्था, बाँकी पानीको मात्रा, त्यसको निकासको सम्भावित मार्ग र नेपालतर्फ आइपुग्न सक्ने सम्भावित बाढीको समयबारे तत्काल संयुक्त प्राविधिक अनुगमन र पूर्वसूचना प्रणाली आवश्यक छ।

किनकि—

बाढी आउनुअघि सूचना दिन सकियो भने विपद् हुन्छ। बाढी आएपछि मात्र सूचना दिइयो भने त्यो विपद् व्यवस्थापन होइन, क्षति गन्ने काम मात्र हुन्छ। अहिलेको सबैभन्दा ठूलो आवश्यकता यही हो—नदी हेर्न जाने होइन, नदीको सूचना सुन्ने। सर्वसाधारण सुरक्षित स्थानमा रहून्, नदी किनारबाट टाढा बसून् र अपुष्ट सूचना तथा जोखिमपूर्ण भिडियोका लागि आफ्नो ज्यान खतरामा नपारून्।

खतरा टरेको छैन—सतर्कता नै अहिलेको सबैभन्दा ठूलो सुरक्षा हो।