काठमाडौं । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा नदी किनारमा भेटिएका शव संकलनमा ढिलाइ भएको गुनासो बढेपछि सरकारले खोजी अभियानलाई थप तीव्र बनाएको छ । सरकारले रसुवादेखि चितवनसम्म नदी तटीय क्षेत्रमा थप १ हजार २०० सैनिक परिचालन गरेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएका शवको खोजी र संकलनका लागि नेपाली सेनाको थप जनशक्ति परिचालन गरिएको हो । सेनाका टोलीलाई सम्भावित स्थान पहिचान गरी समूहगत रूपमा नदी किनारमा खटाइएको छ ।
थप जनशक्ति परिचालनसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा त्रिशूली र नारायणी नदी किनारमा खोजी तथा शव संकलन अभियान व्यापक बनाइएको छ ।यसअघि उद्धार, राहत र अस्थायी व्यवस्थापनका लागि १ हजार ६०० सैनिक जनशक्ति परिचालन गरिएको थियो । पछिल्लो निर्णयपछि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र शव खोजीमा खटिने नेपाली सेनाको कुल जनशक्ति २ हजार ८०० पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र नदी किनारमा शव तथा मानव अंग भेटिने क्रम जारी रहेकाले खोजी अभियानलाई थप प्रभावकारी बनाउन दबाब बढेको थियो । नागरिकस्तरबाट समेत उद्धार तथा शव संकलनमा ढिलाइ भएको गुनासो आएपछि सरकारले थप जनशक्ति परिचालन गरेको हो ।नदीको तीव्र बहाव, पहिरोले क्षतिग्रस्त भूभाग र कठिन भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ । यस्ता जोखिमका बाबजुद सैनिक टोलीले सम्भावित तटीय क्षेत्रहरूमा निरन्तर खोजी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सरकारले अहिलेको प्राथमिकता सम्पर्कविहीनको खोजी, भेटिएका शवको सुरक्षित संकलन तथा प्रभावित परिवारसम्म आवश्यक सूचना पुर्याउनु रहेको जनाएको छ ।






































