काठमाडौं । नेपाल–तिब्बत सीमा नजिक ग्यिरोङ क्षेत्रमा पहिरोले नदी थुनेर बनेको अवरोध तालको जोखिम मूल्याङ्कन गर्न चिनियाँ उद्धारकर्मी तथा विपद् विज्ञहरूको टोली घटनास्थल पुगेको छ ।
सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको ब्यारियर लेकको अवस्था थप गम्भीर बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विज्ञ टोलीले तालको बाँध तथा पानीको सतहको प्रत्यक्ष निगरानी थालेको हो ।चिनियाँ सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो दुईवटा विशेषज्ञ टोली तालको बाँधको विपरीत किनारमा पुगेका थिए । टोलीले घटनास्थलमै रहेर तालको अवस्था, बाँधको स्थायित्व र सम्भावित जोखिमबारे प्राविधिक मूल्याङ्कन गरिरहेको छ ।
जोखिमको तत्काल आँकलन गर्न प्रविधिको समेत प्रयोग गरिएको छ । विज्ञ टोलीले ड्रोनमार्फत ताल र आसपासको भूभागको निगरानी गरिरहेको छ भने पानीको सतहमा भइरहेको परिवर्तन मापन गर्न सेन्सर जडान गरिएको छ ।ड्रोन र सेन्सरबाट प्राप्त तथ्यांकमार्फत तालमा पानीको मात्रा, सतहको परिवर्तन तथा बाँधमा आउन सक्ने सम्भावित असरको वास्तविक समयमै निगरानी गर्ने प्रयास भइरहेको छ ।
पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि बनेको तालमा पानीको मात्रा थप बढेमा तल्लो तटीय क्षेत्रमा जोखिम निम्तिन सक्ने भएकाले चिनियाँ पक्षले यसलाई उच्च प्राथमिकताका साथ निगरानी गरिरहेको छ ।विज्ञ टोलीको स्थलगत मूल्याङ्कनपछि तालको वास्तविक अवस्था र सम्भावित जोखिमबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । सोही आधारमा आवश्यक उद्धार तथा जोखिम न्यूनीकरणका उपाय अघि बढाइनेछ । नेपाल–चीन सीमाक्षेत्र नजिकै बनेको यो अवरोध तालको अवस्थाले नेपालतर्फ पनि चासो बढाएको छ । सम्भावित जोखिमबारे समयमै सूचना आदानप्रदान र सीमापार समन्वय आवश्यक देखिएको छ ।






































