काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोपछि प्रभावितको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस महासंघ
(आईएफआरसी)ले करिब ९३ हजार नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान गर्दै राहत, उद्धार र पुनर्स्थापनाका लागि ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी सहयोग आवश्यक रहेको जनाएको छ ।
आईएफआरसीले आपत्कालीन विपद् प्रतिकार्यदेखि मध्यम तथा दीर्घकालीन पुनर्स्थापनासम्मका लागि ३ करोड १० लाख अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७३ करोड ६ लाख रुपैयाँ सहयोगको अपिल गरेको हो ।रेडक्रसका अनुसार विपत्तिको वास्तविक क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । दुर्गम तथा कठिन भूगोलमा रहेका प्रभावित क्षेत्रसम्म पुग्न सडक तथा अन्य पूर्वाधारमा भएको क्षतिले थप चुनौती सिर्जना गरेको छ ।
बाढीको तीव्र बहावले घर, पुल तथा अन्य संरचना बगाएपछि धेरै परिवार घरबार र जीविकोपार्जनबाट समेत विस्थापित भएका छन् । तत्काल उद्धार र राहतसँगै उनीहरूलाई पुनःस्थापित गर्न लामो समयसम्म सहयोग आवश्यक पर्ने रेडक्रसले जनाएको छ ।आईएफआरसीले यसअघि जीवनरक्षाका लागि १० लाख स्विस फ्र्याङ्क उपलब्ध गराएको थियो । त्यसको भोलिपल्टै थप २ करोड ५० लाख स्विस फ्र्याङ्क आवश्यक पर्ने भन्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरिएको हो ।
रेडक्रसको यो अपिल तत्काल राहतमा मात्र सीमित छैन । आगामी दुई वर्षसम्म प्रभावित समुदायलाई आवास, जीविकोपार्जन, खानेपानी, सरसफाइ, स्वास्थ्य तथा मनोसामाजिक सहयोग र पुनर्निर्माणमा सघाउने लक्ष्य राखिएको छ ।नेपाल रेडक्रसका स्थानीय टोलीले प्रभावित क्षेत्रमा खाना, पानी, त्रिपाल, कम्बल, प्राथमिक उपचार सामग्री, स्ट्रेचर तथा शव व्यवस्थापनका लागि आवश्यक सामग्री वितरण गरिरहेका छन् । परिवारबाट छुट्टिएका व्यक्तिको सम्पर्क पुनःस्थापना गर्ने काम पनि भइरहेको छ ।
तर क्षतिग्रस्त सडक र दुर्गम भूगोलका कारण सबैभन्दा बढी प्रभावित समुदायसम्म सहायता पुर्याउनु अहिलेको मुख्य चुनौती बनेको छ । रेडक्रसले आगामी दिनमा प्रभावितको आवश्यकता अझ बढ्न सक्ने चेतावनीसमेत दिएको छ ।यसले भोटेकोशी बाढीको प्रभाव तत्काल उद्धारमा मात्र सीमित नरहने देखाएको छ । हजारौँ परिवारको घर, जीविकोपार्जन र आधारभूत संरचना पुनःस्थापित गर्न दीर्घकालीन मानवीय सहयोग आवश्यक पर्ने अवस्था देखिएको छ ।






































