विराटनगर । पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट सम्पर्कविहीन भएका नागरिकमध्ये १४५ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ।
प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये २१ जना भने परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आएका छन्। उनीहरू सुरक्षित अवस्थामा रहेको जनाइएको छ। यसैबीच विपद्का कारण १ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।
बाढी, पहिरो तथा अवरुद्ध सडकका कारण कतिपय क्षेत्रमा सञ्चार तथा यातायात सेवा प्रभावित भएकाले सम्पर्कविहीनको यकिन विवरण संकलनमा समेत कठिनाइ भइरहेको बताइएको छ।
सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेको छ। सम्पर्कविहीन नागरिकका परिवारजनलाई सम्बन्धित प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।






































