काठमाडौं / रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बिहान नदीमा पानीको मात्रा बढेको जानकारी आएपछि प्रशासनले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। यद्यपि, मौसम पूर्वानुमान महाशाखाले हालको अवस्थालाई विश्लेषण गर्दा तत्काल ठूलो बाढी आउने जोखिम नरहेको जनाएको छ।

महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीको बहाव सामान्यभन्दा केही बढेको पुष्टि भएको छ। सम्बन्धित निकायले नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप सूचना जारी गरिने जनाएको छ।






































