काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ओम साईराम भलाईकोष एण्ड इन्भेष्टमेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।
संस्थाले बाढीपीडितको राहतका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। सहयोग रकम २०८३ भदौ १४ गते सिटिजन्स बैंकको मोबाइल बैंकिङमार्फत कोषको खातामा पठाइएको भुक्तानी विवरणमा उल्लेख छ। संस्थामा आवद्ध गोपालकुमार रञ्जितकार,गोपालप्रसाद पौडेल,कृष्ण प्रसाद भुँगाई र खगेन्द्र अर्यालले उक्त रकम सहयोग गरेका हुन् ।
संस्थाले विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरेको जनाएको छ। संस्थाका अध्यक्ष गोपाल कुमार रञ्जितकारले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक संस्थाको दायित्व भएको बताए। उनले भने,“भोटेकोशी बाढीले धेरै परिवारलाई ठूलो पीडामा पारेको छ। यस्तो विपद्को समयमा हामी पनि पीडितको साथमा छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ। रकम सानो–ठूलोभन्दा पनि संकटमा परेको नागरिकलाई सहयोग गर्ने भावना महत्वपूर्ण हो।”
संस्थाका उपाध्यक्ष गोपाल प्रसाद पौडेलले बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। उनले भने,“विपद्को घडीमा सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन। संघसंस्था, व्यवसायी र आम नागरिक सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ। हाम्रो यो सहयोगले प्रभावित परिवारसम्म राहत पुर्याउन केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्य हो।”
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि अहिले देशभरबाट राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक भइरहेका बेला ओम साईराम भलाईकोषको १ लाख ११ हजार १ सय रुपैयाँ सहयोग पनि राहत अभियानमा थपिएको हो।
सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्थाले २०७२ सालको भुकम्पमा र कोरोना कालमा समेत धेरै नागरिकहरुलाई राहत तथा उद्दार गरेृको थियो । मेची देखी महाकालीसम्म देशका विभिन्न ठाउँहरुमा कार्यालयहरु स्थापना गरेर अगाडि बढिरहेको संस्थाले आपतविपदमा सेवा गर्दै आएको छ । विशेषगरी दुर्घटनामा परेका नागरिकहरुलाई उपचार उद्धार तथा सवारी साधन मर्मत सम्म गरिदिँदै आईरहेको संस्थाले जनाएको छ ।




































