काठमाडौँ । भोटेकोशी बाढीले ठूलो क्षति पुर्‍याएपछि प्रभावित स्थानीय तहमा देखिएका समस्या र तत्काल आवश्यकताबारे राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले १५ पालिका प्रमुखसँग छलफल गरेका छन् ।

आइतबार लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित पालिकाका प्रमुखसँग प्रत्यक्ष छलफल गरेका हुन् । छलफलमा पालिका प्रमुखहरूले बाढीपछि आफ्नो क्षेत्रमा देखिएको वास्तविक अवस्था र तत्काल गर्नुपर्ने कामबारे जानकारी गराएका थिए ।

पालिका प्रमुखहरूले बाढीमा फसेकाको उद्धार, शव व्यवस्थापन र राहत वितरणसँगै सडक, पुल, विद्युत् तथा सञ्चार सम्पर्क पुनःस्थापनालाई तत्काल प्राथमिकता दिनुपर्ने बताएका छन् । बाढीका कारण कतिपय क्षेत्रमा आवतजावत अवरुद्ध हुनुका साथै आधारभूत सेवा प्रभावित भएको उनीहरूको भनाइ थियो ।छलफलमा विशेषगरी उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने र प्रभावित क्षेत्रमा राहत पुर्‍याउन स्थानीय तहसँग प्रभावकारी समन्वय आवश्यक रहेको विषय उठेको थियो । भौतिक संरचना क्षतिग्रस्त हुँदा राहत तथा उद्धार सामग्री प्रभावित बस्तीमा पुर्‍याउनसमेत समस्या भइरहेको पालिका प्रमुखहरूले बताएका छन् ।

पालिका प्रमुखबाट आएको विवरणपछि लामिछानेले सरकार र स्थानीय तहसँग समन्वय गरेर उद्धार, राहत तथा व्यवस्थापनका काममा सक्रिय हुन पार्टीले गठन गरेको परिचालन संयन्त्रलाई निर्देशन दिएका छन् ।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक कामका लागि सरकारसँग समन्वय गर्ने विषयमा लामिछानेले प्रतिबद्धता जनाएका छन् ।

लामिछानेले आइतबार बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि बाढीपछिको उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गरेका छन् । प्रभावित क्षेत्रमा पार्टीको परिचालनलाई थप प्रभावकारी बनाउने विषयमा साँझ बस्ने केन्द्रीय समिति बैठकमा समेत छलफल हुने बताइएको छ ।

सरकारले भोटेकोशी बाढीबाट प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । संकटग्रस्त क्षेत्र घोषणा भइसके पनि स्थानीय तहमा सडक, पुल, विद्युत्, सञ्चार र शव व्यवस्थापनजस्ता आधारभूत चुनौती कायमै रहेकाले तत्काल समन्वित उद्धार तथा राहतको आवश्यकता देखिएको छ ।