काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेकपा एमालेले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि पार्टीकै तहबाट छुट्टै अभियान अघि बढाउने प्रस्ताव गरेको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ । प्रतिवेदनमा बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुर्याएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरणसँगै अब चाल्नुपर्ने कदमसमेत समेटिएको छ ।
प्रतिवेदनले एमालेको राहत अभियानलाई केन्द्रीय राहत कोष स्थापना गरेर आर्थिक सहयोग जुटाउनेदेखि प्रभावित परिवारसम्म राहत सामग्री पुर्याउनेसम्म केन्द्रित गर्न सुझाव दिएको छ । पार्टी पङ्क्तिलाई परिचालन गरी विस्थापित परिवारका लागि राहत सङ्कलन गर्ने र सङ्कलित सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउनुपर्ने प्रस्ताव गरिएको छ ।
एमालेले बाढीबाट सबैभन्दा बढी समस्यामा परेका मजदुरको उद्धार र पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने बताएको छ । त्यसका लागि नेपाल ट्रेड युनियन महासङ्घलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गर्न प्रतिवेदनमा सुझाव दिइएको छ ।
बाढीपछि रसुवागढी, टिमुरे, स्याफ्रुबेँशी, मैलुङ, बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको एमालेको प्रतिवेदनमा उल्लेख छ । सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुग्दा प्रभावित क्षेत्रमा राहत तथा उद्धार पुर्याउनसमेत चुनौती देखिएको छ ।
एमालेको प्रतिवेदनले तत्काल राहत वितरणसँगै विस्थापितको व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनातर्फ समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ । यसका लागि सरकारी संयन्त्रसँग समन्वय गर्दै पार्टीको स्थानीय संरचनालाई राहत तथा उद्धारमा परिचालन गर्ने रणनीति अघि सारिएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्थलगत अवस्थाको अध्ययन गरेर तयार पारिएको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाइएसँगै एमालेले अब राहत तथा उद्धार अभियानलाई थप व्यवस्थित रूपमा अघि बढाउने तयारी गरेको छ ।






































