काठमाडौं— भोटेकोशीमा आएको बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका पहिचान नखुलेका ८५ शव काठमाडौंमा व्यवस्थापन गरिएको छ ।
भदौ १० गते आएको बाढीपछि संकलन गरिएका ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए । लामो समयसम्म पहिचान हुन नसकेपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३ को पहिलो संशोधनअनुसार डिएनए नमुना सुरक्षित राखेर शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार ती शव गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।
शवको डिएनए नमुना सुरक्षित राखिएकाले आगामी दिनमा आफन्तले दाबी गरेमा डिएनए परीक्षणमार्फत पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर शव उपलब्ध गराइने प्रहरीले जनाएको छ ।
शवबारे जानकारी लिन वा आफन्तले दाबी गर्न महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार शवको व्यवस्थापन अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को प्रोटोकलअनुसार गरिएको हो ।


































