काठमाडौं / भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधन र पूर्वाधारमा क्षति पुर्‍याएसँगै नेपालको विपद् व्यवस्थापन प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ।

उद्धार, राहत वितरण, उपकरणको अभाव र सरकारी समन्वय कमजोर देखिएको भन्दै सरकारको कार्यशैलीको आलोचना भइरहेको छ। विपद्पछि प्रभावित जिल्लामा हजारौँ नागरिक विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका र हजारौँ अझै बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सीमापार व्यापारमा समेत असर परेको छ भने धेरै जलविद्युत् आयोजना सञ्चालनविहीन भएका छन्।

सबैभन्दा धेरै प्रश्न उद्धार र राहत व्यवस्थापनमाथि उठेको छ। प्रभावित क्षेत्रमा राहत सामग्री ढिलो पुगेको, दुर्गम बस्तीमा अझै सरकारी उपस्थिति कमजोर रहेको तथा सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि आवश्यक आधुनिक उपकरण र प्रविधिको अभाव देखिएको टिप्पणी भइरहेको छ। सुरक्षा निकाय ठूलो संख्यामा परिचालन भए पनि पर्याप्त स्रोत–साधन नहुँदा उद्धार कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको बताइएको छ।

विपद्को यति ठूलो प्रभावका बाबजुद सरकारले राष्ट्रिय विपद् घोषणा नगरेको विषय पनि आलोचनाको केन्द्रमा परेको छ।विज्ञहरूका अनुसार राष्ट्रिय विपद् घोषणा भएको भए बजेट, राहत सामग्री र आवश्यक उपकरण छिटो परिचालन गर्न कानुनी प्रक्रिया सहज हुने थियो। तर प्रशासनिक प्रक्रिया र निर्णयमा ढिलाइ हुँदा पीडितसम्म राहत पुग्न समय लागेको आरोप लागिरहेको छ।यसैबीच निजी क्षेत्र, विभिन्न संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायबाट राहत सहयोग बढिरहेको छ।

विदेशी सरकार, अन्तर्राष्ट्रिय मानवीय संस्थादेखि व्यक्तिगत रूपमा सहयोग गर्ने अभियानसमेत सक्रिय बनेका छन्। तर आफ्नै राज्य संयन्त्रभन्दा बाह्य सहयोग बढी प्रभावकारी देखिएको भन्दै सरकारको समन्वय क्षमतामाथि प्रश्न उठ्न थालेको छ।विज्ञहरूले भविष्यमा यस्ता विपद्को क्षति कम गर्न पूर्वसूचना प्रणाली सुदृढ बनाउने, सुरक्षा निकायलाई आधुनिक उद्धार उपकरण उपलब्ध गराउने, तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्ने र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

भोटेकोशीको यो विपद्ले प्राकृतिक प्रकोपसँगै नेपालको विपद् व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने आवश्यकता झन् स्पष्ट बनाएको विश्लेषण गरिएको छ।