काठमाडौँ । भोटेकोशीमा बाढी आएको १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कबीर महर्जनलाई सुरुङबाट जीवितै निकालेर थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुई जनाको उद्धारसँगै सुरुङभित्र रहेका अन्य कर्मचारी पनि सकुशल भेटिन सक्ने आशा पलाएको छ ।

आयोजनाको विद्युत् गृह क्षेत्रमा बाढीका कारण सुरुङभित्र ४६ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको थियो । तीमध्ये सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार भइसकेकाले अब बाँकी ४४ जनाको अवस्थाबारे चासो बढेको छ । उद्धार टोली अझै पावर हाउससम्म पुग्न बाँकी रहेकाले सुरुङभित्रको वास्तविक अवस्था यकिन हुन सकेको छैन ।

आयोजनामा फसेको भनिएका व्यक्तिहरूमा सहायक प्रबन्धक विनोद प्रसाद पाण्डेदेखि इन्जिनियर दिलीप यादव, राजेन्द्र ढकाल र महेन्द्र विक्रम शाहीसम्म छन् । त्यस्तै सहायक इन्जिनियरतर्फ सन्तोष कुमार ठाकुर, इन्द्र अधिकारी, ओम प्रकाश चौधरी र तिल बहादुर राना रहेका छन् ।

सुपरभाइजरतर्फ खेम राज भट्टराई, विकास यादव, रमेश कुमार यादव, विष्णु भण्डारी, आइता तामाङ, सौगात यादव, कबीर महर्जन, जीव लाल अधिकारी, कीर्त सिंह बिष्ट र नीरज बाबु रेग्मी रहेका छन् । यीमध्ये कबीर महर्जनलाई शुक्रबार जीवितै उद्धार गरिएको हो ।

फोरम्यानतर्फ हरि बहादुर बोगटी, रविना तुलसीबाख्यो, सञ्जय शाह, प्रमिला भण्डारी, रोबन पराजुली, सूर्य बहादुर के।सी। र तेज बहादुर जिरेल रहेका छन् । फोरम्यान ड्राइभरका रूपमा खगेन्द्र मगरतीको नाम रहेको छ । यीमध्ये सञ्जय शाहलाई पनि सुरुङबाट सकुशल बाहिर निकालिएको छ ।त्यस्तै इलेक्ट्रिसियन नारायण प्रसाद अर्याल, जुनियर मिस्त्री अमरकान्त चौधरी, देव गिरी, सुदिप कुमार श्रेष्ठ र जितेन्द्र कुमार गुप्ता रहेका छन् । कार्यालय सहयोगीतर्फ अस्मिता लामा, राज कुमार भट्टराई र कान्छी गुरुङ चौधरीको नाम छ ।हेल्परका रूपमा शर्मिला अधिकारी, शान्ति माया तामाङ र झपट बहादुर घर्ती तथा प्राविधिक सहयोगीका रूपमा राम शरण न्यौपाने रहेको विवरणमा उल्लेख छ । सरसफाइ कर्मचारीका रूपमा पनि अस्मिता लामाको नाम सूचीमा राखिएको छ ।

आयोजनाको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूमा हर्क बहादुर तामाङ, मिना शाही, टेक बहादुर तामाङ, रोशनी तामाङ, मिलन तामाङ, कमान सिंह तामाङ र सुशन तामाङ रहेका छन् । यसरी सुरुङभित्र रहेको भनिएको समूहमा इन्जिनियरिङ तथा प्राविधिक जनशक्तिदेखि कार्यालय सहयोगी र सुरक्षाकर्मीसम्म छन् ।बाढीपछि लामो समयसम्म सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्थाबारे अन्योल कायम थियो । तर, १० दिनपछि दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि उद्धार अभियानमा नयाँ आशा थपिएको छ । प्रतिकूल परिस्थितिका बीच दुई जनाको जीवित उद्धारले बाँकी व्यक्तिहरू पनि जीवितै हुन सक्ने सम्भावनालाई बलियो बनाएको छ ।

अब उद्धार टोलीको मुख्य चुनौती सुरुङभित्रको थप भागमा पुगेर बाँकी व्यक्तिहरूको अवस्था पत्ता लगाउनु हो । बाहिर रहेका परिवारहरू भने आफ्ना आफन्त सकुशल फर्किने आशामा उद्धारको अर्को खबर पर्खिरहेका छन् । दुई जनाको उद्धारले त्रिशूली–३ ‘ए’मा आशाको ढोका खोलेको छ, अब बाँकी ४४ जनाको खबरको प्रतीक्षा छ ।