बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा मुलुकले आर्थिक प्रगति गरेको र समृद्धि तर्फ अघि वढेको दावी गर्दै आएका छन् । तर उनको नेतृत्वको सरकारका पालामा आम नागरिकमाथि भने ऋणको बोझ थपिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा मात्रै हरेक नागरिकको थाप्लोमा १० हजार १ सय ७४ रुपैयाँ ऋण थपिएको छ । सोही अवधिमा मुलुकको ऋण पनि ३ खर्ब थपिएपछि नागरिकको थाप्लोमा पर्ने ऋण पनि थपिएको हो । गत असार मसान्त सम्ममा मुलुकको कुल ऋण १७ खर्ब २९ अर्ब पुगेको छ ।

सार्वजनिक ऋण बढेसँगै हरेक नागरिकको थाप्लोमा ५६ हजार ८ सय ४२ रुपैयाँ ऋण पुगेको छ । आर्थिक वर्ष ०७६/०७७ मा मुलुकको ऋण १४ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको कुल ऋण मध्ये आन्तरिक ऋण ८ खर्ब १ अर्ब र बाह्य ऋण ९ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ आन्तरिक ऋण र १ खर्ब २१ अर्ब बाह्य ऋण थपिएको छ । आर्थिक वर्ष ०७६/०७७ मा मुलुकको ऋण १४ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।

ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेट भन्दा पनि मुलुकको सार्वजनिक ऋण ८१ अर्ब ८५ करोड रुपैयाँ बेसी रहेको छ ।