नुवाकोट । रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् ।बाढीबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको र एकातिर बाढी तथा अर्कोतर्फ माथिबाट विद्युत् प्रसारण लाइन साथै रूखका हाँगा खस्दा आफूहरू बीचमै अल्झिएको एक इन्जिनियरले बताए ।उनका अनुसार बाढीको जोखिम बढेपछि आफूहरूले तत्काल सुरक्षित स्थानतर्फ भाग्ने प्रयास गरेका थिए । त्यसक्रममा उनले चप्पलसमेत फालेर नाङ्गो खुट्टामै दौडिएको बताए ।


‘मैले चप्पल फालिदिएँ, नाङ्गै खुट्टा दौडिएँ,’ उनले भने । तर सुरक्षित स्थानतर्फ अघि बढ्ने क्रममा माथिबाट विद्युत् प्रसारण लाइनका तारहरू खस्न थालेपछि अवस्था झन् जोखिमपूर्ण बनेको उनले सुनाए । तार खस्दै आएर रूखको हाँगामा ठोक्किएको र उक्त हाँगासमेत आफ्नै अगाडि खसेपछि आफू अगाडि बढ्न नसकेको उनले बताए ।

‘माथिबाट तार खस्यो, अगाडि झ¥यो अनि रूखको एउटा हाँगामा हान्यो, त्यो हाँगो पनि आफ्नै अगाडि झ¥यो । अगाडि जान सकिन, पछाडि बाढी थियो,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।अगाडि बढ्न खोज्दा थप जोखिम हुने र पछाडि फर्किन पनि बाढीका कारण सम्भव नभएको अवस्थामा केही समय त्यहीँ अडिएर बसेको उनले बताए । आफूले जथाभावी भाग्दा लडेर दुर्घटनामा पर्न सक्ने जोखिमसमेत महसुस गरेको उनको भनाइ छ ।


‘नहेरीकन भागेँ भने झन् यसरी लडाएर सुताउँछ जस्तो लाग्यो,’ उनले भने ।त्यसपछि प्रसारण लाइनको संरचनासहितको अर्को भागसमेत अचानक खसेको उनले बताए । त्यसबाट जोगिन आफू र आफ्ना सहकर्मी वसन्त दुवै तत्काल पर हटेको उनले सुनाए ।


‘त्यो झ-यो अनि त्यहाँबाट वसन्त पनि तर्कियो, म पनि तर्किएँ । त्यहाँ ठ्याक्कै केही पनि भएन,’ उनले भने ।बाढी र माथिबाट खसिरहेका संरचनाबीच ज्यान जोगाएर केही माथि सुरक्षित स्थानमा पुगेपछि आफूहरू केही समय त्यहीँ बसेको उनले बताए । चिलिमे क्षेत्रमा देखिएको उक्त भयावह अवस्थाबाट सकुशल बाहिरिन पाउनु आफ्ना लागि नयाँ जीवन पाएजस्तै भएको उनको अनुभव छ ।


बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरू अहिले एकअर्कासँग घटनाका अनुभव साटासाट गर्दै बसेका छन् । लामो समयसम्म त्रासमा रहेका उनीहरू सकुशल भेटिन पाएको खुसीसमेत एकअर्कासँग बाँडिरहेका छन् ।