बिर्तामोड / प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
 
बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवर्द्धन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।
 
समितिले पूँजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्य शैलीगत पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
 
यसअघि बैठकमा अर्थमन्त्री  शर्माले धितोपत्र बोर्ड र नेप्सेले गर्ने कामकारवाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेबित्तिकै ध्यानाकर्षण भई छानविनका लागि समिति गठन गरिएको जानकारी दिए ।
 
उनले भने, “कानूनमा रहेका छिद्रलाई मेटाउने तयारी भएको छ, जनताको सम्पत्ति डुब्ने हो कि भन्ने चिन्ता छ, सर्वोत्तम सिमेन्टको शेयर कारोबारका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

छानविन समस्या समाधान र जनताको सम्पत्तिको रक्षाका लागि भएको बताउँदै अर्थमन्त्री शर्माले भने, “समस्यालाई टार्न समिति बनाएको हैन, घटनालाई गम्भीरता पूर्वक लिइएकाले  टुङ्गोमा पुर्‍याइने, प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुन्छ ।”
 
कोरोना सङ्क्रमण पछिको उत्पन्न परिस्थितिका कारण वैकल्पिक लगानीका क्षेत्र बन्द भएपछि शेयरमा जनताको आकर्षण बढेको बताउँदै अर्थमन्त्री शर्माले विद्युत् नियमन आयोगको सूचना बुझेर मात्र सत्यतथ्य बुझेर मात्र लगानी गर्न सर्वसाधारणलाई आह्वान गरे ।

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले थोरै पूँजी लिएर प्रवेश गरेका सिधासोझा लगानीकर्ता ठगिने अवस्था अन्त्य गरी पूँजी बजारलाई स्वच्छ, स्वास्थ्य, पारदर्शी र प्राकृतिक रुपमा सञ्चालन गराउन सरकार चनाखो हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
  
पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले सम्पत्ति भनेको घर, जग्गा र सुन हो भन्ने हाम्रो मान्यताले पूँजी बजारमा सर्वसाधारण जनताको विश्वास अझै बढ्न नसकेको बताए।