बिर्तामोड / एमाले भित्रको विवाद अनि गुटको लडाइमा सधैँ माधव कुमार नेपालको पक्षमा रहेका १० शीर्ष नेताले पार्टी विभाजनको समयमा एमालेमा नै बस्ने निर्णय गरेका थिए । एमालेभित्रको तेस्रो धारका नाममा अध्यक्ष केपी शर्मा ओली पक्षसँग १० बुँदे सहमति गरी एमालेमा नै बस्न तयार भएका नेता यतिबेला समस्यामा परेका छन् ।

माधव नेपाललाई नयाँ दल निर्माणका लागि उक्साउँदै आएका उनीहरूले अन्तिम समयमा नेपालको साथ छाडेर एमालेमा नै ओली सँगै बस्न तयार भएका थिए । उनीहरूलाई ओलीले भूमिका विहीन बनाउन थालेपछि यतिबेला उनीहरु समस्यामा परेका हुन् ।

विगतमा एमालेमा रहेको आफ्नो भूमिका र जिम्मेवारी फर्काउनका लागि उनीहरु ओली निवास धाईरहेका छन् । समय बितेको र पार्टी धेरै अगाडि पुगेकाले पुरानो जिम्मेवारी दिन नसकिने भनेर उनीहरूलाई थर्काएर ओलीले पठाउन थालेपछि उनीहरूको विचल्ली हुने भएको हो ।

माधव नेपाललाई अन्तिम क्षणमा धोका दिएर तेस्रो धार नामको समूह बनाएर ओली पक्षसँग १० बुँदे सहमति गदै उनीहरूले एमालेमा नै बस्ने निर्णय गरेका थिए । उनीहरूसँग भएको समझदारी अनुसार एमाले २०७५ जेठ २ को अवस्थामा फर्किने उल्लेख थियो ।  

एमालेको नबौं महाधिवेशनमार्फत निर्वाचितले पाएको जिम्मेवारी यथावत् रहने सम्झौताले निश्चित गरेको थियो । सम्झौता अनुसार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार नहुँदा यतिबेला उनीहरु घरको न घाटका भएका छन् ।  

भीम रावल

पार्टी पुरानो अवस्थामा जाँदा नेता रावल पार्टीका उपाध्यक्ष अनि सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज हुन् । पार्टीमा विवाद उत्कर्षमा पुगेका वेला माओवादी छाडेर एमालेमा नै बस्न तयार भएका नेता लेखराज भट्टलाई रावलको स्थान दिएर सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज बनाइएको थियो । रावल यतिबेला ओली सहितका नेतालाई भेटेर आफूलाई प्रदेश इन्चार्ज बनाउन भनिरहेका छन् तर ओली समुह भट्टलाई हटाएर रावललाई इन्चार्ज बनाउन तयार रहेको छैन ।

समझदारीका विषयमा ओली भेट्न पुगेका नेता रावलाई ओलीले थर्काउँदै भट्टराई हटाउन नसक्ने बताएका छन् । उनले रावललाई  १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्ने अवस्था नरहेको भन्दै उपाध्यक्ष भएर विवाद निरुपणमा सहयोग गर्न निर्देशन दिएर पठाएका छन् ।  

अष्टलक्ष्मी शाक्य

विगतमा एमालेको उपाध्यक्ष र बागमती प्रदेश इन्चार्ज रहेकी शाक्य यतिबेला मुख्यमन्त्री रहेकी छन् । ओली समुहमा आउँदा मुख्यमन्त्री पद पाएपनि उनको सरकार अल्पमतमा रहेको छ । उनले सरकार फेरिदाँ मुख्यमन्त्रीसँगै विगतको प्रदेश इन्चार्जको पद समेत गुमाउने छिन् । १० बुँदे सहमति अनुसार शाक्य बागमती प्रदेशको इन्चार्ज बन्नु पर्ने हो तर यतिबेला प्रदेश कमिटीको इन्चार्ज माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

ओली समुह माओवादीबाट आएका बादललाई हटाएर शाक्यलाई इन्चार्ज बनाउन तयार रहेको छैन ।

युवराज ज्ञवाली

एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीलाई भने गुट फेरवदलका कारण कुनै नोक्सान परेको छैन । उनी अहिले उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटीका इन्चार्ज रहेका छन् । उनको भने जिम्मेवारी यथावत नै रहेको छ ।

कर्णालीमा ओली समूहका प्रभावशाली नेता नभएकाले उनको भने जिम्मेवारी बचेको छ ।

भीम आचार्य

माधव समुहको साथ छाड्दा मुख्यमन्त्री उपहारमा पाएका नेता आचार्यको पनि विजोग भएको छ । मुख्यमन्त्री बनेपनि उनको सरकार अल्पतमा रहेको छ । केहि समयमा नै उनले मुख्यमन्त्री समेत गुमाउने निश्चित रहेको छ । सहमति अनुशार आचार्य प्रदेश १ को इन्चार्ज हुनुपर्ने भएपनि उनी प्रदेश इन्चार्ज हुने सम्भावना देखिएको छैैन।

पार्टी भित्र विवाद उत्कर्षमा पुगेका वेला उनको इन्चार्ज पद खोसेर उनको स्थानमा ओली समुहका प्रभावशाली नेता सुवास नेम्वाङलाई इन्चार्ज बनाइएको थियो । समझदारी अनुसार आचार्यले इन्चार्जको जिम्मेवारी पाउनु पर्ने भएपनि ओली सहित उनी पक्षिय नेता उनलाई इन्चार्ज बनाउन तयार नहुँदा उनको पनि विजोग भएको छ ।

विगतमा आचार्य इन्चार्ज सहित राजकीय मामिला विभाग प्रमुख रहेका थिए । समभदारी अनुसार त्यो विभागको नेतृत्वको जिम्मेवारी पाउनु पर्ने भएपनि नेता आचार्यले त्यो विभागको जिम्मेवारी समेत पाएका छैनन् ।

प्रदेश सरकार ढलेपछि उनीपनि जिम्मेवारी विहीन बन्ने निश्चित देखिएको छ ।  

घनश्याम भुसाल

उपमहासचिव घनश्याम भुसालको जिम्मेवारी– राज्य सञ्चालनसँग सम्बद्ध विभागको अनुगमन संयोजक रहेका थिए । विवाद अनि भएको समझदारी पछि  सोही जिम्मेवारीमा फर्किएका छन् । विगतमा पनि नेपाल समुहमा रहेको भनेर कम प्रभावकारी विभाग वनाएर उनलाई जिम्मेवारी दिइएको थियो । अहिले पनि उनलाई त्यही जिम्मेवारी दिएको छ । पार्टी भित्र त्यो विभागलाई नेताहरुले काम नलाग्नेलाई थन्काउने गोदाम घर भनेर भन्ने गरेका छन् ।

गोकर्ण विष्ट

एमालेका सचिव गोकर्ण विष्ट पनि नेपाल समूहमा नै रहेका थिए । विगतमा उनी मोर्चा संगठन विभाग प्रमुख रहेका थिए । समझदारी पछि उनले सोही जिम्मेवारी पाउनु पर्ने भएपनि ओली समुहले उनलाई पनि अन्यलाई जसरी नै यतिबेला जिम्मेवारी विहीन बनाएको छ । विगतमा उनले सम्हालेको जिम्मेवारी यतिबेला माओवादीबाट आएका नेता टोपबहादुर रायमाझीले पाएका छन् । नेता विष्ट पनि माधव नेपाललाई धोका दिएर आएका अन्य नेता जसरी नै यतिबेला जिम्मेवारी विहीन रहेका छन् ।

नेता विष्ट पनि यतिबेला समझदारी अनुशार नै जिम्मेवारी फर्काउन कोशिस गरिरहेका छन् । तर ओली  उनको त्यो चाहना पुरा गर्न तयार भएका छैनन् ।

योगेश भट्टराई

एमालेका सचिव योगेश भट्टराईलाई पनि अध्यक्ष ओली समुहले यतिबेला अन्यलाई जसरी नै जिम्मेवारी खोसेर भूमिका विहीन बनाउने कोशिस गरेको छ । सहमति अनुशार माधव नेपाल समुह छाडेर ओली सँगै बस्न तयार भएका उनी प्रचार विभाग प्रमुख तथा सम्बद्ध संगठनको इन्चार्ज हुन् । एमालेमा प्रचार विभाग प्रमुख नै प्रवक्ता हुने चलन रहेको छ ।

तर, अध्यक्ष ओली समुहले अहिले भट्टराईको स्थानमा अर्का सचिव प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । ज्ञवालीले नै विगतमा भट्टराईले निभाउँदै आएको भूमिका यतिबेला निर्वाह गरिरहेका छन् ।

सुरेन्द्र पाण्डे

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने पुरानो अवस्थामा नै रहेको आफ्नो जिम्मेवारी पाएका छन् । पहिला उनी पार्टीको  ‘अर्थ तथा योजना विभाग’को प्रमुख रहेका थिए । नेपाल समुहको साथ छाडेपछि उनले त्यही जिम्मेवारी पाएपनि विगतमा भन्दा कम भुमिकामा सो विभागलाई राख्न थालिएको छ । वितगमा पनि कुनै पनि काम गर्दा सो विभागलाई भूमिका दिएका थिएनन् ओलीले ।  

रघुजी पन्त

स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि नेता पाण्डेले नै जसरी पुरानो जिम्मेवारी पाएका छन् । तर अध्यक्ष ओली र सो समुहका नेताले उनलाई विगतमा जसरी नै भूमिका विहीन नै बनाउन थालका छन् । उनले विगतमा रहेको  ‘न्याय तथा कानून विभाग प्रमुख र सम्बद्ध संगठनको इन्चार्ज’ को जिम्मेवारी पाएका छन् ।

एकसाता अघि सम्पन्न एमाले निकट कानुन व्यवसायीको  ‘प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल’ (पीपीएलए)को भेला आयोजनाको उनले केहि पनि थाहा पाउन पाएनन् । अध्यक्ष ओलीको ठाडो निर्देशनमा भेला सम्पन्न भएको थियो । भेलामा समेत पन्त देखिएनन् । उनको ठाउँमा ओली पक्षिय नेता सुवास नेम्वाङ पुगेका थिए ।

अमृतकुमार बोहोरा

नेता बोहोरा विगतमा एमालेको स्थायी कमिटी सदस्य तथा अनुशासन आयोगका अध्यक्ष रहेका थिए  । बोहराले यतिबेला पुरानै जिम्मेवारी पाएका छन् । पार्टीमा केन्द्रदेखि स्थानीय तहसम्म भएका अनुशासन उल्लंघनका विषयमा कुनै पनि काम र कारवाही गर्न उनले विगतमा जसरी अहिले पनि पाएका छैनन् ।

अध्यक्ष ओली र उनी पक्षिय नेताको गतिविधीमा सुधार आउने आसा गरेर १० बुँदे समझदारी गर्दै नेपाल समुह छाडेर ओली समुहमा आएका नेता यतिबेला फेरि पुरानै समस्यामा परेका छन् । ओली वदलिने आस गरेर आएका उनीहरु माथि ओली पक्षले थप पेल्न थालेपछि उनीहरूले संचारमाध्यमको सहारामा विरोध प्रकट गर्न थालेका छन् ।

नेपाललाइ अन्तिम समयमा धोका दिएर ओली पक्षमा लागेका उनीहरूले आफ्नो विगतको जिम्मेवारी फर्काउन सक्छन् सक्दैनन् त्यो त अव समयले नै बताउने छ । उनीहरु जसरी नै नेपाल समुह छाडेर ओली समुहमा लागेका केन्द्र देखि स्थानिय तहसम्मका नेताको हालत उनीहरूको भन्दा फरक अनि भिन्न नहुने संकेत देखिन थालेको छ । आफ्ना विरोधीलाई ठेगान लगाएर नै छाड्ने ओली अनि उनी पक्षिय नेताको चालचलन र स्वभाव वदलिने कुनै लक्षण देखिएको छैन ।