मोरङ// प्रदेश नं १ को वर्तमान सरकारबाट नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको छ।
पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई फिर्ता लिएको पत्र हस्तान्तरण गरेकी हुन्।
दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले आफ्नो दलका तर्फबाट समर्थन रहेको एकीकृत समाजवादीबाट आजको मितिदेखि फिर्ता लिएको कुरा उल्लेख गरिएको बताइएको छ।
वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमति पुग्ने प्रदेशसभा सदस्य रेग्मीले विचार व्यक्त गरेका छन्।
सर्वोच्च अदालतमा मुद्दा चलिररहेकाले एकीकृत समाजवादी दल आधिकारिक नभएको नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।
उनले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्बन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी गराएका छन्।
एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको साथै यस सम्बन्धमा नेपालको संविधान, प्रदेशसभा नियमावली र प्रचलित कानूनअनुसार अगाडि बढ्ने उनले जानकारी गराएका छन्।