बिर्तामोड / गिरी बन्धु टी स्टेट जग्गा प्रकरणका विषयमा आफू नेतृत्वको सरकार र आफ्नो दलको संलग्नतामा अर्बौँ मूल्यको सरकारी जमिन ऐन नै परिवर्तन गरेर भूमाफियालाई सुम्पिएको आरोप खेपीरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीवन्धुकै विवादास्पद जग्गाको सिमानामा उभिएर आफ्नो पालामा देशको विकास  र शुसाशन कायम भएको दावी गरेका छन् ।

राजनीतिक दलको संलग्नतामा भएको इतिहासकै ठुलो भ्रष्टाचार मानिएको जग्गा प्रकरणका विषयमा मौनता साँध्दै आएका ओली र एमालेका नेताहरूले गिरीबन्धुको विवादास्पद जग्गा रहेको क्षेत्रकै नजिकमा रहेको सिटी सेन्टरमा उभिएर त्यस्तो दावी गरेका हुन् ।

एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नो पालामा भएको विकास र शुसाशन देख्न नसकेर विरोधीले अदालतको सहारामा सरकारबाट हटाएको दावी समेत गरेका छन् ।

सरकारले कृषि प्रयोजनका लागि टी स्टेट सहितका करिव चार दर्जन उद्योग तथा कम्पनीलाई प्रयोगका लागि दिएको जग्गा ति कम्पनीका सञ्चालकलाई सुम्पने कानुन ल्याएर दिएकोमा देशव्यापी विरोध र आलोचना भईरहेका समयमा जिल्लाका अगुवा कार्यकर्तालाई भेला गराएर ओलीले त्यस्तो दावी गरेका हुन् ।

आफू नेतृत्वको सरकारले गरेका भ्रष्टाचार र बेथितिका विषय लुकाउन ओलीले सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपाल सहितका नेतामाथि दोषारोपण गरेर बिताएका थिए । उनले सरकारले राम्रो काम गरेको , विकास अनि शुसाशन कायम गरेको र मुलुकलाई समृद्धिको बाटोमा लगेको दावी गरेपनि ति दावीलाई पुष्टि गर्ने तथ्य र आधार भने प्रस्तुत गर्न सकेनन् ।

राष्ट्रिय मुद्दा बनेको विवादास्पद सम्झौता एमसीसीका विषयमा कहिले पक्षमा त कहिले विपक्षमा बोल्ने गरेका ओलीले सो विषयमा भने केही पनि बोलेनन् । आफ्ना सम्बोधन र भाषणमा अधिकांश समय विरोधीलाई खुइल्याउने र उखान टुक्काको सहारा लिने गरेका ओलीले बिर्तामोड भेलाको अधिकांश समय त्यसैमा खर्च गरेका थिए ।  

ओलीले प्रचण्डसँग धेरै नेता तथा कार्यकर्ता अलमलिएको भन्दै आफू तिर आउन उनले आग्रह गरेका छन् । प्रचण्ड भन्दा आफू ठिक र राम्रो भएको दावी गर्न समेत उनले छाडेनन् ।

प्रचण्ड जादुगर अनि तान्त्रिक भएको दावी गर्दै ओलीले भने –  प्रचण्डले मान्छे भुलाउने र हो कि जस्तो गराउछन् । प्रचण्ड तान्त्रिक जस्तो छन् । यस्तो मायावी मान्छे हुन्, उनले जादुगरले जस्तो मान्छे भुलाउने र अलमल्याउने काम गर्छन्। कुरा सुन्दा हो कि त जस्तो लाग्छ । दुनियाँ नै ढाँटेर खाएका छन्। एकपल्ट त देशभरिका युवालाई पछि लगाइदे, हो कि क्या हो प्रचण्डजस्तो पारेर, साँच्चै परिवर्तन ल्याउँछ कि जस्तो पारेर, युवाहरू होमिएका छन्, होमिएका छन्। २०६४ मा भोट थुप्रिएको हेर्नुस् त। त्यसपछि सरकार बनाएर के गरे त उनले ?

प्रचण्ड छट्टु र धोकेबाज नेता भएको ओलीले आरोप समेत लगाएका छन् । प्रचण्डका विषयमा उनले भने –  उहाँ एउटा असल बाबु, असल काका, असल ससुरो हो तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ, राम्रो बा, राम्रो काका। तर बेइमान नेता। उहाँ सबै हिसाबले राम्रो हुनुहुन्छ। एउटा मात्रै खराबी छ। छट्टु नेता, धोकेबाज नेता।

ओलीले प्रचण्डमा कार्यकर्तालाई छक्याएर, मराएर अनि तिनको रगत, बेहाल, पसिना, क्रन्दनमाथि आफ्नो राजनीतिक दुनो सोझो पारिहाल्ने स्वभाव रहेको समेत आरोप लगाएका छन् ।

अर्का नेता माधव नेपालले चुनावमा वडा सदस्य पनि नजित्ने ओलीले दावी गरेका छन् । जनतासँग माधव नेपाललाई भोट दिनुपर्ने कुनै आधार पनि नरहेको दावी समेत गरेका छन् ।

नेता नेपाल प्रति आक्रोस पोख्दै ओलीले भने – माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले भोट हाल्छन् अब ? किन हाल्ने, एमाले फुटाएको हुनाले ? एमाले टुक्र्याएको हुनाले ? चोइट्याएको हुनाले ? के कारणले माधव नेपालाई भोट हाल्ने ?

माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको ओलीले जिकीर समेत गरेका छन् । नेपालले एमाले फुटाउन मात्रै खोजेको ओलीको भनाई थियो ।

दलविभाजनको अध्यादेश पटक पटक ल्याएर दल विभाजन गर्न असफल बनेका ओलीले वर्तमान सरकारले ल्याएको दल विभाजनको अध्यादेशको विरोध समेत गरेका छन् । आफ्नो पालामा दल विभाजनका लागि भएको सांसद अपहरण सम्मको घटना विर्षर्दै ओलीले अध्यादेशको समर्थन गरेकाले सभामुखलाई आफ्नो दलले स्विकार्न नसक्ने बताएका छन् ।