बिर्तामोड / एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्तालाई भेला गरेर माओवादीका अध्यक्ष प्रचण्डमाथि लान्छना र आरोप लगाईरहेको समयमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रन्जित तामाङले बिर्तामोड स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा उभिएर ओलीलाई झापाबाट लखेट्ने उद्घोष गरेका छन् ।

ओलीले आफ्ना कार्यकर्ता भेला गरेर प्रचण्डलाई छट्टु , जाली र तान्त्रिक भनेर दोषारोपण गरिरहँदा नेता तामाङले उनै ओलीलाई हावादारी र झुटको खेती गर्ने नक्कली राष्ट्रवादी अनि नक्कली कम्युनिष्ट भनेर आरोप लगाइरहेका थिए ।

प्रचण्डले जनता झुक्याएर मारेको र निहत्था नागरिकको खुनको होली खेलेको ओलीले बताइरहँदा नेता तामाङले आफ्नो सङ्गठनका जिल्लाभरका कार्यकर्ताको बिचमा उभिएर कोरोनाका विषयमा प्रधानमन्त्री भएको समयमा गरेका हावादारी कुरा र दाबीका कारण सयौँ नागरिकले अनाहकमा मृत्युवरण गर्नु परेको दावी गरेका हुन् ।

अखिल क्रान्तिकारीको १७ औं जिल्ला सम्मेलनलाई सम्बोधनको अधिकांश समय नेता तामाङले ओली र उनको दलको आलोचनामा समय बिताएका थिए । ओलीले विकास र सुशासनको दावी गर्ने गरेको भन्दै उनले भने – एउटा व्यवसायीले चलाएको अस्पताललाई मेडिकल कलेज बनाउन लागेकाले किन मेची र आम्दा अस्पतालको विकास गर्न सकेनन् ?

झुटा कुरा र भ्रामक प्रचारमा जनता अल्मलाउने काम गरेको भन्दै झापाबाट झुटका पुलिन्दा बनेर देखिएका ओलीलाई डाँडा कटाउने हिसाबमा तयारीमा जुट्न तामाङले विद्यार्थीलाई निर्देशन समेत दिएका छन् ।

माओवादी जनयुद्धको समयमा जनमुक्ति सेनाले खेलेको भूमिका अब विद्यार्थीले खेल्नु पर्ने समय आएको भन्दै जनतालाई झुटको सहारामा अल्मल्याउन पल्केका ओलीलाई थप्पड हानेर डाँडा कटाउने हिसाबमा तयारीमा जुट्न विद्यार्थीलाई उनले निर्देशन समेत दिएका छन् ।

ओलीले माओवादीलाई मात्रै नभई सिंगो देशका नागरिकलाई उल्लू बनाएको भन्दै निकट भविष्यमा हुने निर्वाचनमा ओली र उनको पछाडि दगुर्ने सबैलाई पराजित बनाउने गरी सङ्घर्षमा जुट्न समेत विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्तालाई सुझाव समेत दिएका छन् ।

करिव – करिव एउटै समयमा आफ्ना कार्यकर्ता भेला गरेर बोलिरहेका ओलीले माओवादी अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल समुहका नेताले वडा सदस्य पनि नजित्ने दावी गरिरहेको समयमा विद्यार्थी नेता तामाङले झापा सहित देशैभरीबाट आगामी निर्वाचनमा ओली अनि उनका सहयोगी पराजित हुने ठोकुवा समेत गरेका छन् ।

विकास र समृद्धि हावादारी कुराकै भरमा नहुने भन्दै ओलीको झुटको खेतीमा अलमलिएका आम जनतालाई विद्यार्थीले सचेत बनाउन पर्ने भन्दै उनले माओवादी आन्दोलनबाट अलग भएका सबैलाई गोलबद्ध हुन अपिल समेत गरेका छन् । माओवादी भित्र देखिएको फुटको फाइदा उठाउन ओली जस्ता नक्कली कम्युनिष्ट सफल भएको भन्दै उनले एकताका लागि आफ्नै दलका नेताहरुलाई सुझाव समेत दिएका छन् ।

विगतमा ओलीलाई निर्वाचित गराउन आफै चुनावी मैदानमा खटिएका नेता तामाङले ओलीको झुटो जालमा सबै फसेको भन्दै ढिला भएपनि ओलीको झुटो जालबाट मुक्त भएकाले उनलाई नेपालको राजनितीबाट डाँडा कटाउने काममा जुट्न पनि आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जिल्ला सम्मेलनलाई माओवादी केन्द्रका झापा सह–इन्चार्ज झलकसिंह दर्लामी, संयोजक मणिकुमार साम्पाङ, वाइसिएलका जिल्ला अध्यक्ष दधिराम रिमाल, पार्टीका गौरीगञ्ज अध्यक्ष विद्यानन्द राजवंशी, अखिल क्रान्तिकारीका केन्दिूय सचिव मदन भट्टराई, संबिधानसभा सदस्य मोहन टुडु, प्रदेश सदस्य लक्ष्मी न्यौपाने र विरेन्द्र बस्नेतलगायतले सम्वोधन गरेका थिए ।

सम्मेलनमा सङ्गठनका केन्द्रिय सदस्य बालकुमार केसी, मनिषा आचार्य, जिसस न्यौपाने, प्रदीप वास्कोटा, खगेन्द्र सुवेदी, रवी बस्नेत, भक्त शंकर, पार्टीका प्रदेश सदस्य सीपी कडरिया, गगन पुरी, कल्पना कार्की, वोधराज दाहाल, राजु चुडाल, पूर्व बिद्यार्थी नेता महेन्द्र भट्टराई, पार्टीका जिल्ला सदस्य भानु दंगाल,  बासु दुलाल, डण्डिराज गुरागाई र अरुण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारीका जिल्ला सदस्य राजन चापागाईले संचालन गरेको उद्घाटन सत्रमा झापा उपाध्यक्ष सरस्वती चम्लागाईले स्वागत मन्तव्य राखेकी थिईन । सम्मेलनले आगामी चुनाव र संगठनको महाअधिवेषन लक्षित जिल्ला कमिटि चयन गर्ने वताईएको छ ।