बिर्तामोड / एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्तालाई भेला गरेर माओवादीका अध्यक्ष प्रचण्डमाथि लान्छना र आरोप लगाईरहेको समयमा  अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रन्जित तामाङले बिर्तामोड स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा उभिएर ओलीलाई झापाबाट लखेट्ने उद्घोष गरेका हुन् ।

ओलीले आफ्ना कार्यकर्ता भेला गरेर प्रचण्डलाई छट्टु , जाली र तान्त्रिक भनेर दोषारोपण गरिरहँदा नेता तामाङले उनै ओलीलाई हावादारी र झुटको खेती गर्ने नक्कली राष्ट्रवादी अनि नक्कली कम्युनिष्ट भनेर आरोप लगाइरहेका थिए ।

प्रचण्डले जनता झुक्याएर मारेको र निहत्था नागरिकको खुनको होली खेलेको बताइरहँदा नेता तामाङले आफ्नो सङ्गठनका जिल्लाभरका कार्यकर्ताको बिचमा उभिएर कोरोनाका विषयमा प्रधानमन्त्री भएको समयमा गरेका हावादारी कुरा र दाबीका कारण सयौँ नागरिकले अनाहकमा मृत्युवरण गर्नु परेको दावी गरेका हुन् ।

अखिल क्रान्तिकारीको १७ औं जिल्ला सम्मेलनलाई सम्बोधनको अधिकांश समय नेता तामाङले ओली र उनको दलको आलोचनामा समय बिताएका थिए । ओलीले विकास र सुशासनको दावी गर्ने गरेको भन्दै उनले भने – एउटा व्यवसायीले चलाएको अस्पताललाई मेडिकल कलेज बनाउन लागेकाले किन मेची र आम्दा अस्पतालको विकास गर्न सकेनन् ? 

झुटा कुरा र भ्रामक प्रचारमा जनता अल्मलाउने काम गरेको भन्दै झापाबाट झुटका पुलिन्दा बनेर देखिएका ओलीलाई डाँडा कटाउने हिसाबमा तयारीमा जुट्न तामाङले विद्यार्थीलाई निर्देशन समेत दिएका छन् । माओवादी जनयुद्धको समयमा जनमुक्ति सेनाले खेलेको भूमिका अब विद्यार्थीले खेल्नु पर्ने समय आएको भन्दै जनतालाई झुटको सहारामा अल्मल्याउन पल्केका ओलीलाई थप्पड हानेर डाडा कटाउने हिसाबमा तयारीमा जुट्न विद्यार्थीलाई उनले निर्देशन समेत दिएका छन् ।

ओलीले माओवादीलाई मात्रै नभई सिंगो देशका नागरिकलाई उल्लू बनाएको भन्दै निकट भविष्यमा हुने निर्वाचनमा ओली र उनको पछाडी दगुर्ने सबैलाई पराजित बनाउने गरी सङ्घर्षमा जुट्न समेत विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्तालाई सुझाव समेत दिएका छन् ।

करिव – करिव एउटै समयमा आफ्ना कार्यकर्ता भेला गरेर बोलिरहेका ओलीले माओवादी अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल समुहका नेताले वडा सदस्य पनि नजित्ने दावी गरिरहेको समयमा विद्यार्थी नेता तामाङले झापा सहित देशैभरीबाट आगामी निर्वाचनमा ओली अनि उनका सहयोगी पराजित हुने ठोकुवा गरेका छन् ।

विकास र समृद्धि हावादारी कुराकै भरमा नहुने भन्दै ओलीको झुटको खेतीमा अलमलिएका आम जनतालाई विद्यार्थीले सचेत बनाउन पर्ने भन्दै उनले माओवादी आन्दोलनबाट अलग भएका सबैलाई गोलवद्ध हुन अपिल समेत गरेका छन् । माओवादी भित्र देखिएको फुटको फाईदा उठाउन ओली जस्ता नक्कली कम्युनिष्ट सफल भएको भन्दै उनले एकताका लागि आफ्नै दलका नेताहरुलाई सुझाव समेत दिएका छन् ।

विगतमा ओलीलाई निर्वाचित गराउन आफै चुनावी मैदानमा खटिएका नेता तामाङले ओलीको झुटो जालमा सबै फसेको भन्दै ढिला भएपनि ओलीको झुटो जालबाट मुक्त भएकाले उनलाई नेपालको राजनितीबाट डाँडा कटाउने काममा जुट्न विद्यार्थीलाई निर्देशन समेत दिएका छन् ।