बिर्तामोड/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार प्रमुख रहेका बेला भएका बेथिती , अपराध र भ्रष्टाचारका विषय लगातार रुपमा सार्वजनिक भईरहेका छन् । ओली प्रधानमन्त्री रहेको समयमा दलका कार्यकर्ता र कर्मचारीले पनि राज्यका निकायको गलत प्रयोग गरेर अकुत कमाएको र अर्काको सम्पत्ति सम्म हडपेर खाएका विषय सार्वजनिक हुन थालेका छन् ।
जनआन्दोलनमा आन्दोलनकारी माथि बर्बर दमन गरेको भन्दै जिल्ला जनआन्दोलन समन्वय समिति मोरङले कारवाही गर्न कालो सुचीमा राखेका नेपाल प्रहरीका डिएसपी सन्तोष तामाङले ओलीकै नजिकमा बसेर अकुत कमाएको विषय सार्वजनिक भएको हो ।
तत्कालीन समयमा प्रहरी निरीक्षक रहेका तामाङ तत्कालीन पूर्व क्षेत्रिय प्रहरी कार्यालय मातहतको गणमा रहँदा उनले तालिमे प्रहरी जवानलाई नाङ्गै बनाएर यातना दिने गरेका थिए । गणमा पुगेका प्रशिक्षार्थी प्रहरीलाई उनले दिएका यातनाका विषय समेत सो समयमा सञ्चारमाध्यम मार्फत सार्वजनिक भएका थिए ।
तत्कालीन समयमा गणपति रहेका प्रहरी उपरीक्षक सुदीप आचार्यले तामाङलाई कारवाही गर्ने प्रयास समेत गरेका थिए । आफू निलम्बन र बर्खास्त सम्म हुने सूचना पाएका तामाङले जागिर जोगाउन तत्कालीन शाही सरकारलाई खुसी बनाउन आन्दोलनमा सडकमा निस्केका निहत्था नागरिकमाथि बर्बर दमन समेत गरेका थिए ।
तामाङ र उनका व्याजकै अर्का प्रहरी निरीक्षक विनोद शर्माको दमन उत्कर्षमा पुगेकै बेला शाही सत्ता ढलेको थियो । तत्कालीन समयमा जनआन्दोलन संयोजन समिति मोरङले तामाङ र शर्मा सहितका प्रहरी अधिकारीले आन्दोलनमा बर्बर दमन गरेको भन्दै आन्दोलन पछि बनेको सरकारलाई उनीहरूलाई कारवाही गर्न सिफारिस समेत गरेको थियो ।
विवादास्पद छवीका तामाङलाई जनआन्दोलन पछि बनेको सरकारका पालामा कारवाही हुने निश्चित रहेको भएपनि उनलाई एमालेकै ओली समुहका नेताहरूले जोगाएका थिए । आफ्नै क्षेत्रको भएको भन्दै तामाङलाई ओली समुहका नेता दीपक कार्की र हिक्मत कार्की लगायतले कारवाहीबाट जोगाएका थिए । तिनै विवादास्पद छविका तामाङलाई ओलीले आफ्नो मान्छे भनेर नै आफू प्रधानमन्त्री भएको समयमा आफ्नो सुरक्षा टिमको नेतृत्व सम्म गर्न दिएका थिए ।
ओलीकै निर्वाचन क्षेत्रका विवादास्पद छविका तामाङ यतिबेला प्रहरी नायब उपरीक्षक डीएसपी रहेका छन् । ओलीको साथमा भएको समयमा तामाङले ललितपुरको झम्सिखेलमा करिव १० करोड मूल्य पर्ने घर किनेको सार्वजनिक भएको हो । आनाको करोड भन्दा माथि मूल्य पर्ने झम्सिखेलमा तामाङको ७ आना जग्गामा आलिसान भव्य घर रहेको खुलेको छ । सामान्य मध्यम वर्गीय परिवारका तामाङको आफ्नै करोडौँ मूल्यको घर रहेको खुलेपछि ओलीको साथमा रहेका बेला ओली समुहका नेता र तिनको संरक्षणमा तामाङले अकुत कमाएको खुलेको हो ।
हाल नेपाल प्रहरीका डिएसपीको मासिक तलब हाल ४० हजार ३ सय ८० रुपैयाँ रहेको छ । राजधानीमा बसाई अनि परिवार समेत चलाउन कठिन हुने तलव रहेका तमाङले अकुत कमाएको पुष्टि गर्ने घर रहेको सार्वजनिक भएपछि ओली शासनकालमा उनले समेत अवैध तवरले कमाएको खुलेको हो । प्रधानमन्त्रीको साथमा रहँदा सुन तस्करसँग समेत मिलेर काम गरेको अनि अकुत कमाएको पनि उनीमाथि आरोप लाग्न थालेको छ ।
तामाङले एमालेकै संरक्षणमा गुण्डागर्दी गर्दै आएका र काठमाण्डौको ठमेल क्षेत्रमा गुण नाईके भनेर चिनिएका उमेश लामासँग मिलेर ठेक्कपट्टाको काम समेत गर्ने गरेको खुलेको छ । प्रधानमन्त्री निकट रहेका तामाङले कमाई हुने खालका काम गर्नका लागि आफ्नी श्रीमति र लामाको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फोटुङग नामक कम्पनी समेत दर्ता गरेर काम गर्ने गरेको समेत खुलेको छ ।
त्यसैगरी एमालेको युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत र निरु पालको संरक्षणमा अपराध कर्म भएको अर्को विषय समेत सार्वजनिक भएको छ । सरकार र नेताहरुको आड अनि संरक्षणमा अर्काको सम्पती जालसाँझ गरी हडप्ने र हप्ता असुली गर्ने सम्मका अपराधिक काममा संलग्न युवा संघकै सदस्य संलग्न रहेको खुलेको छ ।
एमालेका युवा नेताद्धय बस्नेत र पाल निकट मानिएका रुसिल कटुवाल उर्फ रुमेश कटुवाल पक्राउ परेपछि यो विषय सार्वजनिक भएको हो । सरकार अनि सत्तारुढ दलका नेताको संरक्षणमा कानुनी कारवाहीबाट जोगिदैं आएका कटुवाललाई ओली सरकार ढले लगत्तै प्रहरीले पक्राउ गरेपछि यो विषय खुलेको हो । पक्राउ परेका कटुवाल युवा संघमा पुर्व अध्यक्ष पालको धर्म भाई भनेर चिनिने गरेका गरेका छन् ।
अर्काको नाममा रहेको जग्गा हडपेर खाएको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । सुनसरीको धरान ९ का स्थायी बासिन्दा कटुवालले काठमाडौंमा बसेर अपराधिक काम गर्दै आएका थिए ।
मोरङको केराबारी गाउँपालिका ६ का धिरज कुमार दाहालसँग मिलेर कटुवालले नुवाकोटको तारकेश्वर गाउँपालिका २ घर भई काठमाडौं बस्ने उद्धव प्रसाद अधिकारीलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
धिरजको नाममा रहेको मोरङको केराबारी गाविस वडा नमबर ६ ९क० को कित्ता नम्बर ६ सय ३८ को एक आना र कित्ता नम्बर ६४० को ७ आना २ पैसा जग्गा विक्री गर्नका लागि बैना बापत भनेर अधिकारीसँग नेपाल इन्भेष्टमेन्ट बैंकको बत्तिस पुतली शाखाबाट लिएको ६८ लाख रुपैयाँ फिर्ता नगरेको अभियोगमा कटुवाललाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।
आफू ठगिएको थाहा पाएपछि कानुनी कारवाहीका लागि अधिकारीले सरकारी निकाय गुहारे पनि सरकार अनि एमालेका प्रभावशाली नेताको संरक्षणमा रहेका कटुवाल कारवाहीबाट जोगिदै आएका थिए । एक वर्ष अघि नै अधिकारीले उनीहरु विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । तर तत्कालिन समयमा सत्तारुढ दलका नेताको संरक्षणमा रहेका कार्की पक्राउ गर्न प्रहरीले नै चासो देखाएको थिएन ।
सरकार फेरिए लगत्तै पिडीत अधिकारी सत्तारुढ दलका नेताको सहयोग माग्न पुगेपछि मात्रै प्रहरीले कटुवालालाई पक्राउ गरेको बताईएको छ ।