विराटनगर //नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले समावेशिताको समेत धज्जी उडाउँदै मन्त्री परिषद बिस्तार गरेका छन्।
समावेशिता र समान अधिकारका पक्षमा एमाले रहेको दावी भइरहेका समयमा प्रदेश १ को मन्त्रीपरिषद मा भने महिला र दलित सहभागिता शुन्य भएको छ।
मुख्यमन्त्री आचार्यले ५ जना सदस्य मन्त्रिपरिषद मा थप गर्दा समेत महिला र दलितलाई मन्त्रिपरिषद मा पाउने अवसरबाट वन्चित गरेका छन् ।
एमालेका नेताहरुले पार्टीका हरेक तह र राज्यका निकायमा जनसंख्याका आधारमा अवसर दिने बताए पनि महिला र दलितलाई प्रदेश १ को मन्त्रीपरिषदमा सहभागिता हुन् बाट वन्चित गराइएको छ।
३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा आचार्यले भने संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद विस्तार गरेका छन् ।
नेकपा एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट बैधानिकता पाएकोले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने विपक्षी गठबन्धनले दावी गरिरहेको थियो।
तर आचार्यले भने असोजको अन्तिम साता मात्र विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मन्त्रीहरुमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना ,झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ ।
त्यसैगरी मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ । मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद ८ सदस्यीय भएको छ ।