बिर्तामोड / सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टीको केन्द्रिय नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता बिमलेन्द्र निधिले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा दुरुपयोग गरेको सार्वजनिक भएको छ ।
मुलुककै राजनीतिको एउटा शक्तिकेन्द्र मानिएका निधीले विवादास्पद पृष्ठभूमिका व्यवसायी सुरेन्द्र भण्डारी सञ्चालक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा सर्वसाधारणले बचत गरेको करोडौँ रुपैयाँ नियमविपरीत लगेर चलाएको खुलेको हो ।
पटक –पटक मन्त्री भएका र पार्टी सभापतिको दौडमा रहेका निधीले सहकारी ऐन र नियमको धज्जी उडाउँदै सहकारीबाट शून्य ब्याज दरमा करोडौँ रुपैयाँ लगेको खुलेको छ । कांग्रेसका संस्थापक नेता स्व। महेन्द्र नारायण निधिको पारिवारिक विरासतमा टेकेर राजनीतिमा उदाएका निधि यतिबेला पार्टी नेतृत्व हत्याउन चुनावी तयारीमा जुटेका छन् ।
निधिले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट आफैं संरक्षक रहेको महेन्द्र नारायण निधि मेमोरियल ट्रष्टको नाममा शून्य ब्याजदरमा ऋण लिएको खुलेको हो । नियम र कानुनको धज्जी उडाउँदै सहकारीबाट शून्य ब्याजदरमा ऋण भन्दै निकालेको पैसा महेन्द्र नारायण निधि स्मृति अस्पतालमा लगानी गरेको बताईएको छ ।
महेन्द्र नारायण निधि अस्पतालले शून्य प्रतिशत ब्याजमा सन् २०१७ जुलाई ११ मा १७ लाख २८ हजार ७ सय १८ रुपैयाँ निकालेको स्टेटमेन्ट नै यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सहकारीले मिडियम टर्म हाउजिङ लोन भनेर घरजग्गा कारोबारका लागि ऋण दिएको उल्लेख गरेको छ ।
सन् २०१७ जुलाईमा नै ट्रष्टको नाममा २ करोड रुपैयाँ ऋण निकालेको अर्को स्टेटमेन्ट पनि सार्वजनिक भएको छ । सहकारीको स्टेटमेन्टमा ऋणको ब्याजदर भने शून्य प्रतिशत रहने उल्लेख छ ।
भण्डारी आफैँले पनि सन् २०१७ जुलाई २० मा १० लाख रुपैयाँ ऋण निकालेका छन् । त्यसैगरी २०७४ पुस ४ गते पनि भण्डारीले ३ करोड ५० लाख रुपैयाँ ऋण निकालेको सहकारीको अभिलेखमा देखिन्छ । भण्डारीले सन् २०१४ जुलाई १५ मा पनि आफ्नै स्वामित्वको जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङको नाममा ४ करोड ८० लाख रुपैयाँ ऋण निकालेका थिए ।
गायक रामकृष्ण ढकालको घर हत्याउन सफल उनले आफ्नै दाइ अमृत अमृत बहादुर भण्डारीका नाममा पनि ३ करोड ३७ लाख रुपैयाँ ऋण निकालेका छन् । आफ्ना दाइले निकालेको ऋणमा उनले पाँच पटक सम्म व्याज छुटको निर्णय गराएका छन् भने आफूले निकालेको ऋणको ब्याज ३ प्रतिशत मात्रै रहेको छ ।
आर्थिक अपचलन , ठगी र सरकारी जमिन हडपेको लगायतका अभियोगमा मुछिएका सुरेन्द्र भण्डारीसँगको आर्थिक सम्बन्ध खुलेपछि निधिको आगामी यात्रा समेत कठिन हुने भएको छ । चुनावी तयारीमा नै रहेका बेला निधीले सर्वसाधारणले बचत गरेको पैसा नियम र कानुनको धज्जी उडाउँदै सहकारीबाट निकालेको खुलेपछि पार्टी भित्रै पनि यो विषयमा छानविन र कारवाहीको माग हुन थालेको छ ।
भण्डारी सञ्चालक रहेको लालीगुराँसले २०६ वर्ष पुरानो फाल्चा रहेको सरकारी जमिन मिचेर भवन बनाएको खुलेपछि ललितपुरका मेयर एवं कांग्रेस नेता चिरिबाबु महर्जनले सो जमिनमा यतिबेला फाल्चा पुर्ननिर्माणको प्रयास गरिरहेका छन् । तर कांग्रेसका शिर्ष नेता निधि र अन्य नेताको दवावमा पुर्ननिर्माण रोक्न भण्डारीले मेयर महर्जनलाई समेत दवाव दिईरहेका छन् ।
विगतमा जसपाका नेता डा। बाबुराम भट्टराई निकट मानिएका भण्डारी यतिबेला नेपाली कांग्रेस निकट वित्तिय तथा सहकारी विभागको सचिव छन् । निधि र कांग्रेसका अन्य नेताको दवावका भरमा उनले सहकारी वैंक समेत संचालन गर्ने भन्दै केहि समय अघि कार्यालय नै उद्घाटन समेत गरेका थिए ।
आफ्ना सेयर सदस्य भन्दा बाहिर समेत कारोवार गर्ने गरेको भनेर विवादीत बनेको सहकारीले आफ्नै सेयर सदस्यसँग २१ प्रतिशत सम्म ब्याज असुल्ने गरेको र समयमा किस्ता अनि ब्याज नबुझाउनेसँग १५ प्रतिशत जरिवाना समेत लिने गरेको छ ।
शंकास्पद कारोवारका कारण भण्डारीका विषयमा सरकारी निकायमा उजुरीको चाङ नै रहेको छ । तर भण्डारीका विषयमा अनुशन्धान र कारवाही गर्न सरोकारवाला सरकारी निकायले वेवास्ता गर्दै आएका छन् । सहकारी ऐन र नियमको धज्जी उडाउँदै कारोवार गर्ने सहकारी र निधीका विषयमा सरकारले छानविन र कारवाही गर्छ कि विगतको ओली सरकारले जसरी ओम्नी र यति सहितलाई संरक्षण गरेको ईतिहाँसको पुनरावृत्ति गर्छ , त्यो भने आगामी दिनमा नै थाहा हुने छ ।