बिर्तामोड / संसारभरका प्रजातान्त्रिक मुलुकमा त्यहाँ रहेका राजनीतिक दल राष्ट्रियताका विषय र मुद्दामा एक ठाउँमा उभिने गरेका छन् । सत्तारुढ दलबाट हुने गरेका जनविरोधी , बेथिति र भ्रष्टाचारका विषयमा सत्तामा नरहेका दलले आन्दोलन अनि विरोध गर्ने गरेका छन् ।
तर नेपालमा भने भ्रष्टाचार , बेथिति र राष्ट्रहित विपरीतका निर्णयमा पनि विपक्षी दल सत्तारुढ दलसँग मिलेको हामीले देख्दै आएका छौं । एनसेल कर छली , वाइडबडी , र यति प्रकरण जस्ता ठूला भ्रष्टाचारका विषयमा पनि सत्ता पक्ष र विपक्षमा रहेका दल बिचको मिलेमतो हामीबाट छिपेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सकारका पालामा भ्रष्टाचार बढेको भन्दै यतिबेला सत्तामा पुगेको नेपाली कांग्रेस दुवैका नेताको मिलेमतोमा काठमाण्डौ महानगरपालिकामा भ्रष्टाचार भएको नयाँ विषय बाहिरिएको छ ।
ओली निकट मानिएका काठमाण्डौका मेयर विध्या सुन्दर शाक्य र कांग्रेस नेता समेत रहेका उध्योगी विनोद चौधरी परिवारका सदस्यको मिलेमतोमा महानगरपालिकाको खातामा रहेको करिव साँढे ६ अर्ब रुपैयाँ मनोमानी हिसाबले प्रयोग गरेको खुलेको छ ।
नेता चौधरी परिवारको मुख्य स्वामित्व रहेको नबिल बैंकमा महानगरपालिकाले सरकारी कोषमा जम्मा भएको साँढे ६ अर्ब रुपैयाँ राख्दा ० दशमलव ७५ प्रतिशत मात्रै व्याज लिने गरेको खुलेको हो । महानगरपालिकाले सरकारी स्वामित्वका बैंक लत्याउँदै चौधरीसँगको मिलेमतोमा ६ अर्ब ६३ करो ८० लाख ७२ हजार ६ सय ९७ रुपैयाँ नबिल बैंकमा न्यून व्याज लिने गरी जम्मा गरेको विषय सार्वजनिक भएको हो ।
नबिल बैंकमा नै महानगरको दैनिक कारोबारका लागि रहेको अर्को खाता हुँदा हुँदै छुट्टै खाता खोलेर नविललाई फाइदा हुने गरी मिलेमतोमा राज्यकोषको साँढे ६ अर्ब भन्दा बढि राखिएको थियो । बचत खाताकै रकमलाई चल्ती खाता बनाएर नविलका सञ्चालक र मेयर शाक्यको मिलेमतोमा ब्याज छल्ने गरेको समेत गम्भिर आरोप लाग्न थालेको छ ।
नबिल बैंकले ठूला बचतकर्ताका लागि सुपर सेभिङ खातामा ४ दशमलव १ प्रतिशत ब्याज दिने गरेको छ । बैंकले छ करोड भन्दा वढी पैसा बचत गर्नेलाई ७ दशमलव ५ प्रतिशत ब्याज दिने गरेको छ । महानगरपालिकाले नबिलमा पहिलो पटक एकैचोटी ५ अर्ब २४ करोड ३४ लाख ३७ हजार २ सय ५० रुपैयाँ शुरु मौज्दात गरेको थियो ।
बैंकको सुपर सेभिङ खातामा दिने ब्याज दरकै अनुपातमा ब्याज हिसाब गर्दा महानगरले करिव २० करोड रुपैयाँ पाउनु पर्ने देखिन्छ । महानगरभित्रै यो विषयमा कुरा उठ्न थालेपछि शाक्यको निर्देशनमा नबिलमा मौज्दात गरिएको पैसा राष्ट्र बैंकमा सारिएको छ । ब्याज बापत करोडौँ रुपैयाँ महानगरपालिकालाई नोक्सान भएको विषयमा उच्च सरकारी अधिकारी समेत जानकार रहेका छन् । तर पनि राष्ट्रिय सम्पति माथि मिलेमतोमा भएको लुट र दुरुपयोगको विषयमा कोही पनि बोल्न चाहँदैनन् ।
काठमाडौं महानगरका मेयर शाक्य र नबिल बैंकका सञ्चालक चौधरी परीवारका उत्तराधिकारी निर्भाणा चौधरीको मिलेमतोमा भएको लुट र भ्रष्टाचारका विषय वाहिरीए पनि सरोकारवाला सरकारी निकायले भने छानविन र कारवाहीका लागि कुनै चासो देखाएका छैनन् ।
आम नेपालीका लागि भ्रष्टाचारको यो विषय नयाँ भने छैन । यसरी वर्षौदेखि सत्तारुढ दल र विपक्षिको मिलेमतोमा हुने गरेका भ्रष्टाचारका विरुद्धमा आम जनता जागरुक र आन्दोलित नबनुन्जेल मिलेमतोमा भ्रष्टाचार गर्न पल्केका हाम्रा दल र तिनका नेताले भ्रष्टाचार गर्न भने छाड्ने छैनन् ।