बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा आफ्नो दल र आफू निकटलाई नियम र कानुन मिचेर कमाउने मौका दिएको भनेर आलोचना गर्दा गर्दै सरकारको नेतृत्व आफ्नो हातमा लिन सफल बनेका कांग्रेस सभापति शेर बहादुर देउवाले पनि ओलीकै बाटोमा हिड्न थालेका छन् ।
आफू प्रधानमन्त्री भए लगत्तै जनदवाव र विरोधका बिच आफ्नी पत्नी आरजु राणाका व्यवसायीक साझेदार भनेर चिनिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रयोग गरेर देउवाले पनि आफ्ना सहयोगीलाई कमाई कमाई खाने बाटो बनाइदिन थालेका छन् ।
ओली शासनकालमा देखिएको स्वास्थ्य क्षेत्रमा भएको लुट र भ्रष्टाचारलाई निरन्तरता दिने गरी देउवाले ओली कै सचिवालयका सदस्यसँग मिलेर आफू निकट मानिएका कांग्रेस नेता सुनिल शर्माको स्वामित्वमा रहेको नोवेल मेडिकल कलेजलाई मापदण्ड विना नै मृगौला प्रत्यारोपण अनुमति दिएको सार्वजनिक भएको छ ।
स्वास्थ्य मन्त्रालयले केही दिन अघि मोरङको विराटनगर –५, कञ्चनवारीमा सञ्चालनमा रहेको नोवेल मेडिकल कलेजलाई प्रत्यारोपणको अनुमति दिएको छ ।
मन्त्रालय मातहत रहेको समितिको सिफारिसका आधारमा भन्दै मन्त्रालयले मापदण्ड नै नपुगेको कांग्रेस नेताको मेडिकल कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो ।
नजिकै धरानमा रहेको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा प्रत्यारोपणका लागि अनुमति दिन आनाकानी गर्दै आएका देशका दुई ठूला दल एमाले र कांग्रेस नोवेललाई अनुमति दिने काममा भने एक ठाउँमा उभिएका छन् ।
प्रत्यारोपण अनुमतिका लागि स्वास्थ्य मन्त्रालय मातहत विज्ञ समिति रहेको छ । समितिमा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर प्रेम ज्ञवाली र र ओली निकटकी चिकित्सक त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाह सदस्य रहेका छन् । शाह ओलीकी निजी चिकित्सक समेत हुन् ।
ओली सरकारकै संरक्षणमा कानुन नै मिचेर मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक बनेका ज्ञवाली र ओली निकट कै चिकित्सक सिंह सँगको मिलेमतोमा प्रत्यारोपण अनुमति लिन कांग्रेस नेता सुनिल शर्मा सफल बनेका हुन् ।
नोवेललाई अनुमति दिने क्रममा ठुलो रकम लिएको समेत ज्ञवाली र सिंहमाथि आरोप लागि रहेको छ । आफ्नै दलका नेताको कलेजलाई कमाउन सजिलो हुने गरी मापदण्ड मिचेर दिएको अनुमतिमा स्वास्थ्य राज्य मन्त्री श्रेष्ठ र प्रधानमन्त्री देउवाले आँखा चिम्लिएपछि यो विषयमा विरोध सुरु भएको छ ।
मृगौला प्रत्यारोपणका लागि आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी समेत नरहेको नोवेललाई अनुमति दिएको विषयमा सरकारको आलोचना हुन थालेपछि सरकारले अनुमति दिने काममा संलग्न मानिएका ज्ञवालीलाई अन्यत्र सरुवा गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी गराएका छन् ।
नोवेल संचालक सुनिल शर्मालाई मिलेमतोमा प्रत्यारोपण अनुमति दिने काममा संलग्न ज्ञवालीलाई गठन आदेश नै संसोधन गरेर अन्यत्र सरुवा गर्ने तयारी भएको मन्त्रालयले जानकारी गराएको छ । विगतमा केन्द्रमा स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीमात्रै निर्देशक हुने व्यवस्था रहेको थियो । तर ओली नेतृत्वको सरकार रहेका बेला त्यो नियम परिवर्तन गराउँदै ज्ञवाली निर्दशक बन्न सफल भएका थिए ।
ज्ञवालीले आफू निर्देशक रहेको केन्द्रमा भन्दा बढि समय आफ्नो समेत लगानी रहेको ग्राण्डीमा दिने गरेको आरोप समेत लाग्दै आएको छ । सरकारी भन्दा निजीमा बढी समय दिने गरेको आरोप लागेका ज्ञवालीले नै विराटनगर पुगेर नोवेलमा मृगौला प्रत्यारोपणको काम गरेको समेत सार्वजनिक भएको छ ।
नोवेललाई दिएको अनुमतिले आफ्नै दल निकटका स्वास्थ्य उध्यमीले समेत विरोध गर्न थालेपछि सोही अभियोग लगाएर प्रधानमन्त्रीकै सल्लाहमा ज्ञवाली हटाउन प्रकृया थालिएको स्रोतको भनाई छ ।