बिर्तामोड / पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता प्रभु साहले संविधान पुनर्लेखन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार संविधान दिवसको अवसरमा मन्त्री शाहले सामाजिक सञ्जाल मार्फत लेख्दै सो कुरा बताएका हुन् । 

साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटिहरूको कारण देशमा राजनीतिक संकट गहिरिँदै गएको बताएका छन् । 

उनले लेखेका छन् –‘संविधानमा रहेका कयौँ व्यवस्था जस्तै नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार, संघीय मुलुकमा अनावश्यक तीन तह, शासक जातिलाई आरक्षण, अनावश्यक दर्जनौं संवैधानिक आयोग, दोहोरो नागरिकतासम्बन्धी गलत व्यवस्था, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँड, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणाली जस्ता अस्वभाविक गलत प्रावधानहरुले गर्दा आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको छ ।’

आमजनताको लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवं समृद्धिको चाहना मुख्यतः सशस्त्र युद्ध र जनआन्दोलनको मागअनुरूप संविधानको पुनर्लेखन गरी देशलाई सही दिशा निर्देश गर्नुपर्ने पूर्वमन्त्री साहको तर्क छ।

साहले संविधानमा रहेका त्रुटिहरूलाई सच्याएको खण्डमा मात्र संविधान दिवस मनाउनुको औचित्य सावित हुने समेत बताएका छन् ।