बिर्तामोड / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको व्यवस्था परिवर्तन भएपनि राजनीतिमा परिवर्तन हुन नसकेको भन्दै परिवर्तनका लागि आफूले आगामी अधिवेशनमा महामन्त्री पदका लागि उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
गृह जिल्ला झापाको बिर्तामोडमा कांग्रेसका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता शर्माले राजनीतिमा परिवर्तनका लागि भन्दै २४ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरेका छन् ।
राजनीतिमा परिवर्तन नहुँदा मुलुकमा बेथिति र भ्रष्टाचार बढेको अनि जनतामा निराशा पैदा भएको नेता शर्माले दावी समेत गरेका छन् ।
सम्बोधनको अधिकांश समय शुसाशन, बेथिति र भ्रष्टाचारका विषयमा केन्द्रित गरेका शर्माले आफ्नै दलको नेतृत्वको सरकार बनेको दुई महिनाको अवधिमा सार्वजनिक भएका भ्रष्टाचार अनि बेथितिका विषयमा भने मौनता प्रकट गरेका थिए । सरकार र दलभित्र कायम बेथिति अन्त्यका लागि भन्दै लामो सम्बोधन गरेका उनले विगतमा आफू आवद्ध दलबाट भएका बेथिति र भ्रष्टाचारका विषय समेत स्वीकार गर्न सकेनन् ।
झापाकै नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भएका काम र सो समयको सरकारको आलोचना गरेका नेता शर्माले हाल सम्मकै सबैभन्दा ठुलो भ्रष्टाचारको विषय मानिएको गिरीबन्धु टि स्टेट प्रकरणका विषयमा समेत मौनता साँधेका छन् ।
सरकारले कृषि प्रयोजनका लागि भनेर सो कम्पनीलाई उपयोग गर्न दिएको अर्बौँ मूल्यको सरकारी जमिन कानुन नै परिवर्तन गरेर भूमाफियालाई सुम्पेको भनेर निर्णय फिर्ताका लागि आम जनताले माग गरिरहेको विषयमा समेत उनले आफ्नो धारणा राखेनन् ।
भ्रष्टाचारका ठुला विषयमा राजनीतिक दलका बिच मिलेमतो हुने गरेको आरोप लाग्दै आएको छ । कांग्रेस भित्र राम्रो छवी र कुनै पनि विवादास्पद काममा नमुछिएका शर्माले मिलेमतोमा झापाकै जमिनमा भएको अर्वौ रुपैयाँको लुटको विषयमा बोल्ने कांग्रेसकै स्थानिय नेता कार्यकर्ता तथा नेताले अपेक्षा राखेका थिए ।
तर राजनीतिमा परिवर्तनका जरुरी भएको भन्दै लामो सम्बोधन गरेका उनले आफ्नै गृह जिल्लामा भएको ००७ साल यताकै ठुलो भ्रष्टाचारको विषयमा साँधेको मौनतालाई भने कांग्रेस भित्रै पनि अर्थपूर्ण रुपमा लिइएको छ ।
राजनीतिमा परिवर्तनका लागि सांसद , मन्त्री , प्रधानमन्त्री र राष्ट्रपति हुनका लागि फरक कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । उनले राष्ट्रपतिको कार्यकाल १ पटक , प्रधानमन्त्रीको कार्यकाल २ पटक , मन्त्रीको कार्यकाल ३ पटक र सांसदको कार्यकाल ४ पटक मात्रै हुने व्यवस्था नगरुन्जेल मुलुकको राजनीतिमा परिवर्तन नहुने ठोकुवा समेत गरेका छन् ।
पटक–पटक भएका आन्दोलन अनि क्रान्तिले राजनीतिक व्यवस्थामा परिवर्तन गरेपनि जनताले प्रत्याभूति गर्न नसकेकाले राजनीतिमा परिवर्तनको खाँचो रहेको बताउँदै शर्माले भने – परराष्ट्र निती , विकास निती , राजनीतिक संस्कार र सामाजिक दायित्वमा राजनीतिक दलहरू बिच साझा दृष्टिकोण बनाउन नसक्दा आम जनतामा निराशा छाएको छ , हामीले जनताको आशा र भरोसालाई जीवित राख्नका लागि दलहरू भित्रै परिवर्तन जरुरी छ ।
शर्माले सम्बोधनका क्रममा वैदेशिक रोजगारमा गएकाको शव बाकसमा आउँदा विमानस्थलमा कुनै पनि नेता नपुग्ने गरेको उदाहरण प्रस्तुत गर्दै हरेक नेपालीको सुख अनि दुखमा साथ दिन सक्ने नेताको जनतालाई खाँचो रहेको बताएका छन् ।
भ्रष्टाचार र बेथिति रोक्नका लागि राजनीति गर्नेहरुले पार्टी कामका लागि तिन दिन र आयस्रोत जुटाउनका लागि श्रममुलक काममा चार दिन खर्च गर्ने व्यवस्था अनि नीति राजनितीक दलले बनाउनु पर्नेमा जोड समेत दिएका छन् ।
निर्वाचन प्रणालीमा राजनीतिक दलहरुले खर्चका विषयमा झुटो विवरण पेश गर्ने गरेको स्विकार्दै उनले निर्वाचन प्रणालीमा पनि परिवर्तनको खाँचो रहेको बताएका छन् ।
गन्हाएको राजनीतिलाई सहि दिशामा लानका लागि दलहरू भित्रै परिवर्तन जरुरी रहेको बताएका शर्माले आगामी महाअधिवेषनमा आफुलाई विजय बनाउनका लागि सहयोग गर्न समेत अपिल गरेका छन् ।
आफ्ना दलको शासनकालामा भएका बेथिति र भ्रष्टाचार अनि आफ्नै जिल्लाको सरकारी जमीनमा भएको अर्बौँ रुपैयाँको भ्रष्टाचारको विषयमा सार्वजनिक रुपमा नवोलेका नेता शर्माले राजनीतिमा सुधारका लागि भन्दै सार्वजनिक गरेको २४ बुँदे घोषणा पत्रमा सुशासन, पारदर्शिता , सदाचार र परिवर्तित राजनीतिको मूल संस्कार लगायतका विषय उल्लेख गरेका छन् ।