बिर्तामोड / प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो । 

आर्थिक विधेयक माथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् ।   बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिए । 

उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरूप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए । 

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुत तुल्याउन कृषि, उद्योग प्रवर्द्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए । यसअघि विनियोजन विधेयकलाई पारित गर्नपूर्व सांसद प्रेम सुवालले राखेको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।