बुटवल / बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । 

एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका मेयर सुवेदी सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल उपमहानगरपालिका –३ ज्योतिनगर र लक्ष्मीनगर गएका थिए । 

पहिरो निरीक्षणका क्रममा ज्योतिनगर पुगेका सुवेदीलाई स्थानीय सरकारले नगरवासीका लागि केही नगरेको भन्दै एमालेकै कार्यकर्ता गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् । 

पंगेनी अनेरास्ववियु रूपन्देही जिल्ला कमिटी सदस्य रहेको पाइएको छ । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । यति लामो दिन आफूहरू विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का गरेका थिए । 

उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् । सो स्थानमा पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।

आफूहरू विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र  नगर प्रहरीले रोकेका थिए ।