बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरी सरकारको नेतृत्व हत्याउन सफल बनेका शेर बहादुर देउवाले पनि ओलीकै बाटो हिड्न थालेको छनक दिएका छन् । ओली प्रधानमन्त्री रहेको समयमा भएका वेथिति र भ्रष्टाचारको विरोध गरी सत्ता यात्रा प्रारम्भ गरेका अन्य दलले पनि ओलीकै बाटो पछ्याउन थालेका हुन् ।
संविधान दिवशका अवसरमा देशकै सवैभन्दा ठुलो विभुषण प्रदान गर्ने क्रममा देउवा नेतृत्वको सरकारले ओलीको बाटो मात्रै समातेको छैन , उनलाई समेत उछिन्ने संकेत दिएको छ । ओली सरकार प्रमुखमा रहेको समयबाट सुरु भएको आफु निकटलाई छानिछानि दिने विभूषणको खेलमा वर्तमान सरकारले नयाँ रेकर्ड नै बनाएको छ ।
राज्यको ढुकुटीबाट २० करोड रुपैयाँ खर्च गरी तयार पारिएको विभूषणमा नयाँ रेकर्ड कायम गर्दै सरकारले तजबिजी र भागबन्डाका आधारमा ९ सय ३ जनालाई विभूषण बाँड्ने भनेर गरेको निर्णयको जनस्तरबाट समेत विरोध अनि आलोचना सुरु भएको छ । गतवर्ष ओली नेतृत्वको सरकारले १२ करोड रुपैयाँ खर्च गरी ५ सय ९४ जनालाई विभूषित गरेको थियो ।
संविधान दिवसका दिन मुलुकका लागि योगदान पुर्याएकालाई सम्मान गर्नका लागि दिने विभूषणका लागि गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो ।
समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, नेपाली सेनाका अवकासप्राप्त उपरथी नरबहादुर कँडेल र इन्जिनियर ओमप्रकाश महतो सदस्य र सदस्य सचिवमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे रहेका थिए ।