बिर्तामोड / महाकाली सन्धी भएको २५ वर्ष पुरा भएको छ । आजकै दिन असोज ४ गते तत्कालिन प्रतिनिधी सभाको दुई तिहाई बहुमतले असमान महाकाली सन्धी अनुमोदन गरेको थियो । पहिलो पटक विदेशी मुलुकसँग गरेको सन्धी र सम्झौता सदनमा प्रवेश गराउँदै तत्कालिन सरकारले अनुमोदन गराएको थियो ।
नेपालको पानी र भूभाग समेत गुमाउने गरी भएको सो सन्धि अनुमोदन गराउने काममा प्रमुख प्रतिपक्षी दल एमालेले पनि आफूलाई सत्ता पक्षकै लाइनमा उभ्याएर सहयोग गरेको थियो । असमान महाकाली सन्धि सन्धिका पक्षमा यतिबेला आफूलाई राष्ट्रवादी नेता सावित गर्न कोशिस गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली भरपुर सहयोग अनि समर्थन गरेका थिए ।
ओली सन्धिका पक्षमा लाग्दा सो समयमा एमाले समेत विभाजन भएको थियो । नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री रहेको समयमा भएको विवादास्पद सो सन्धि पास गराउन ओलीले नै मुख्य भूमिका खेलेका थिए ।
ओलीको अडानलाई तत्कालीन एमालेका महासचिव माधव कुमार नेपालले समेत समर्थन गरेपछि सो सन्धि सदनबाट दुई तिहाइ मतले अनुमोदन भएको थियो । विवादास्पद महाकाली सन्धिमा तत्कालीन प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री पी भी नरसिंह रावले ०५२ साल माघ २९ गते हस्ताक्षर गरेका थिए ।