बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालामा भएका बेथिति , भ्रष्टाचार र सत्ताको दुरुपयोगका घटनाको विरोध गर्दा गर्दै सत्तामा पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले पनि आफूलाई ओलीकै बाटोमा हिँडाउन थालेका छन् ।
सरकारको नेतृत्व आफ्नो हातमा हुन्जेल मनपरी र सत्ताको चरम दुरुपयोग गरेका ओली र सो पार्टीका नेताहरू यतिबेला सरकारबाट बाहिरिएपछि फेरि आम जनताको बिचमा विगतका गल्तीमा माफी अनि क्षमा समेत नमागी आदर्शवान नेताको रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् ।
ओली सत्ता च्युत भएपछि सत्ता आफ्नो पार्टीको हातमा लिन सफल भएका कांग्रेस , माओवादी केन्द्र , एकीकृत समाजवादी , जसपा र संयुक्त जनमोर्चा आफ्नो सरकारले गरेका गलत काम अनि विषयको विगतमा सत्तामा रहनेले गरे जसरी नै बचाउ गर्न थालेका छन् ।
देउवा प्रधानमन्त्री भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा असफल बनेका सत्तारुढ दलका नेता विगतका गल्ती नदोहोरिने आम जनतासँग झुटो बाचा गरिरहेका छन् । जनतालाई अल्मल्याउन अनि ढाटेर आफ्नो पक्षमा पार्न सक्ने खुबीमा निपूर्ण मानिएका दलका नेताले सरकारमा आफू पुगेपछि जे पनि गर्दा हुने विगतकै चरित्र देखाउन थालेका छन् ।
देउवा नेतृत्वको सरकार बनेकै समय देखि यो सरकार पनि विगतको ओली सरकार भन्दा भिन्न नरहेको प्रमाणित हुने अवस्था छोटो समयमा नै बनिसकेको छ ।
संविधान दिवसका दिन राष्ट्रका लागि योगदान गरेकालाई सम्मान गर्ने नाममा राज्यको ढुकुटीको करोडौँ रुपैयाँ आफ्ना आसेपासे भेला गरेर पदक मात्रै बाँडेको छैन , संविधान दिवसको अवसर पारेर विगतको ओली सरकारले जसरी नै जघन्य अपराधमा संलग्न अपहरण , हत्या , फिरौती असुली र त्यस्तै प्रकृतिका अन्य घटनमा संलग्नलाई असल चालचलन भएको भन्दै बाँकी कैद छुट दिएर रिहा गराएको खुलेको छ ।
दक्षिण भारतीय फिल्ममा जसरी नै अपराध अनि आतङ्कमा संलग्नलाई आफू सरकारमा रहँदा छुटाउने परम्परा आम नेपालीका लागि भने नयाँ हैन । सरकारमा रहँदा गरेका तिनै निर्णयलाई लिएर सरकार वाहिरका दलले विरोध गर्ने अनि जनताका बिचमा आफूलाई राम्रो सावीत गर्न खोज्ने गरेका छन् ।
ओली सत्तामा रहँदा त्यसरी नै विरोधको चाङ लगाएर सत्तामा पुगेका दलले ओली जसरी नै काम गर्न थालेपछि यतिबेला ओली अनि उनको दलका नेताले अहिले भएका घटना देखाएर आफूलाई राम्रो सावित गर्न खोजिरहेका छन् ।