बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) को महासचिव डा. बेदुराम भुसाल बन्ने निश्चित भएको छ ।

बिहीबार बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको एकीकृत समाजवादीका एक नेताले बताए । 

नेताले भने, –‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ ।’

महासचिवमा भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरूबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । 

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।