काठमाडौँ / सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेश विरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, –“नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट दुई/दुई जना एमिकस क्युरी बोलाउने आदेश भएको थियो, सो आदेशअनुसार नामावली प्राप्त भएको नदेखिँदा नामावली प्राप्त हुनेबित्तिकै तत्काल पेसी तोक्न आदेश भएको छ ।”
उक्त विवादमा एमिकस क्युरीका लागि नेपाल बारबाट अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई र सर्वोच्च बारले सो बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णय गरेको थियो । इजलासमा एमिकस क्युरी उपस्थित नभएपछि इजलासले अन्य आदेश जारी गर्दै पेसी सारेको छ ।
अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले उक्त विवादमा गत भदौ ४ गते रिट निवेदन दायर गरेका थिए ।