बिर्तामोड / बेथिति र भ्रष्टाचारका विषयमा चर्का कुरा गर्ने ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी आफैं बेथिति र भ्रष्टाचारको विषयमा मुछिएका छन् । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाबाट भएका काम र खर्चमा प्रश्न उठाएपछि मेयर चौधरी बेथिति र भ्रष्टाचारको विषयमा आफै मुछिएका हुन् ।

मेयर भए देखि नै उछृखल गतिविधि , घटना र कामका कारण चर्चामा रहेका चौधरीको कार्यकालमा नियम र कानुनको धज्जी उडाउँदै ४९ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । महालेखाको प्रतिवेदनमा यसपटक ३७ करोड र अघिल्लो वर्षमा ११ करोड भन्दा वढी बेरुजु रहेको सार्वजनिक भएको छ ।

महालेखाले दुई दिन मात्रै बैठक बसेर तिन दिनको भत्ता लिएको , तोकिएको काम र विषय भन्दा बाहिरको विषयमा बैठक राखेर भत्ता दिएको , नगरपालिकामा कानुन  अधिकृतको व्यवस्था हुँदा समेत कानुन व्यवसायी राखेर खर्च गरेको र करार कर्मचारीलाई सञ्चय कोषका नाममा कानुन विपरीत खर्च गरेको भन्दै प्रश्न उठाएको  छ।

नियमविपरीत नियुक्त गरिएका करार कर्मचारीका लागि मात्रै २३ करोड ७९ लाख खर्च गरेकोमा समेत महालेखाले असन्तुष्टि प्रकट गरेको छ । त्यसैगरी जनता माविलाई कार्यसम्पादन प्रतिवेदन विना नै तिन करोड निकासा गरेकोमा पनि महालेखाले प्रश्न उठाएको छ ।

कार्यकालको सुरुवातमा भ्रष्टाचार र बेथितिको पक्षमा चर्को कुरा गरेपछि जनस्तरबाटै बेथिति र भ्रष्टाचार विरोधीको छवि बनाउन सफल बनेको चौधरी आफ्नो कार्यकालको अन्तिम समयमा आइपुग्दा भने अन्य भन्दा आफूलाई उनले फरक देखाउन सकेका छैनन् ।