काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य रहेको बताएका छन् ।
उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए । ।
दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस निमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
दिगो विकासको सातौँ लक्ष्य प्राप्तिमा मिश्रित एवं असमान ढङ्गले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै उनले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोभिड –१९ को महामारीले अतिरिक्त चुनौती थपिएको बताए ।
“यस्ता जटिल परिस्थितिको सामना गर्दै हामीले स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई निरन्तर अघि बढाउनुपर्छ”, प्रधानमन्त्री देउवाले भने ।
जलवायु परिवर्तनका असरविरुद्ध लड्न, गरिबी घटाउन, लैङ्गिक समानता कायम गर्न, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा लगायत दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जाले उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री देउवाले बताए ।
उच्चस्तरीय संवादलाई धेरै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, सांसद तथा राष्ट्रसङ्घका उच्च अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको नियोगले जनाएको छ ।