बिर्तामोड / भारतको अतिक्रमण सहँदै आएको नेपालले चीनबाट पनि भूमी अतिक्रमणको समस्या झेल्नु परेको छ । लामो समयदेखि हुम्लाको विभिन्न ठाउँमा अघोषित रुपमा भुमी अतिक्रमण गर्दै आएको चीनले पछिल्लो समय नेपाली भुमीमा आफ्नो लालझण्डा नै गाडेको छ ।
चीनले हुम्लाको सदरमुकाम सिमीकोटबाट करिब सय किलोमिटरको उचाइमा पर्ने नाम्खा गाउँपालिका –६ स्थित लिमी उपत्यकाको वाउँ लाप्चा भन्ने स्थानमा झण्डा गाडेको हो ।
बाउँ लाप्चा क्षेत्रबाट कैलाश र मानसरोवर स्पष्ट रुपमा देखिन्छ । लाप्चा क्षेत्रबाट कैलाश र मानसरोवर देखिने भएकाले नै चीनले यो भूमिमा आखा गाडेको स्थानियको भनाइ छ ।
चीनले १२ नम्बरको सीमा स्तम्भनै नयाँ बनाएर सो क्षेत्र हडप्न अनेकौं हर्कतहरु गर्दै आएको स्थानियको आरोप छ ।
काठमाडौँबाट सञ्चालित एक अनलाइनले चीनले नेपाली भुमीमा झण्डा गाडेको भिडियो सामाग्री सार्वजनिक गरेको छ । केही हप्ता अगाडि उक्त अनलाइनको टिम सो क्षेत्रमा स्थलगत रिपोर्टिङमा जाँदा झण्डा नभएको बताइएको छ ।
रिपोर्टिङका क्रममा अनलाइनको टिमलाई सीमा क्षेत्रमा पुग्न नदिन अनेक नाटक गरिएको थियो । जस्मा चीनियाँ एजेण्ड देखि नेपालका सरकारी कर्मचारीको समेत मिलेमतो भएको पाइएको छ ।
चीनको सियान प्रान्तले ‘नागरिक दूत’ नियुक्त गरेका नेपाली नागरिक प्राध्यापक डा. राजीवकुमार झाले पत्रकारलाई फोन गरेर चीनले भूमी मिचेको भनेर नेपाल सरकारले पुष्टी गरे चीनले मिसाईल हान्छ भन्दै धम्की समेत दिएका थिए । झाले चीन विरुद्ध हुने गतिविधिको निगरानी राख्ने गरेका छन् ।
नेपाली भुमीमा चीनले झण्डा गाडेपछि स्थानीय आक्रोसित बनेका छन् । काठमाण्डौंमा वसेका र आफुलाई राष्ट्रवादी वताउनेहरु यो विषयमा नवोलेको भन्दै उनीहरुले दुःख ब्यक्त गरेका छन्।
चीनसँगको विवादमा प्रशासनले सत्ताको वोली वोल्ने र स्थानीयवासी स्वार्थ र परिवेश अनुकुल वोल्ने देखिएकाले विवाद समाधानका लागि भुमीका खेलिदिन उनीहरुले पत्रकारहरुसँग आग्रह गरेका छन् ।