काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताएका छन् । 

नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका २७ वडाले आज आयोजना गरेको कार्यक्रममा श्रेष्ठले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरूले नयाँ पार्टी स्थापना गरेको बताए । 

नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहेका श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि युवा वर्गको विशेष भूमिका रहेको उल्लेख गर्दै एकीकृत–समाजवादीले पार्टीको नेतृत्वमा ४० प्रतिशत युवालाई सहभागी गराउने नीति लिएको जानकारी दिए ।
    
वाग्मती प्रदेशसभा सदस्य वसन्त मानन्धरले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आफ्नो पार्टी क्रियाशील रहने बताउँदै अहिले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा रहेको निजी क्षेत्रको नियन्त्रणलाई न्यूनीकरण गरी सरकारले सर्वसुलभ बनाएर सबै नागरिकको पहुँचमा पु¥याउनु पर्नेमा जोड दिए । 

संविधानसभा सदस्य प्रभा वज्राचार्यले सङ्गठनलाई विस्तार गर्न देशभर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा आनन्दराज भण्डारीको नेतृत्वमा २५ सदस्यीय वडा शाखा कमिटी गठन गरिएको छ ।