काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि जवाफ दिने सचिवालयले जनाएको छ ।
यसअघि हिजो(शनिबार) सम्पन्न बैठकमा १० समूहका नेताहरूले प्रतिवेदनमाथि आफ्ना सुझाब दिएका थिए । उनीहरूले सातजना उपाध्यक्ष राखेर प्रदेश इन्चार्जको जिम्मेवारी दिन सुझाब दिएका छन् । विधान संशोधन प्रस्तावमा भने तीनजना मात्र उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।
पार्टी अध्यक्षमा ओली दोहोरिँदा नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतलाई व्यवस्थापन गर्न उपाध्यक्ष थप्नुपर्ने सुझाब आएको छ । नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।