बिर्तामोड / सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिने जिम्मा गठबन्धनका शीर्ष नेताहरूले पाएका छन् ।

आज (आइतबार) बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए ।

नेता यादवले भने –‘आजको बैठकले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउनेगरी चाँडो समस्याको समाधान खोज्नुस् भनेर जिम्मेवारी दिएको छ ।’

 यादवका अनुसार अबको एक दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने छ ।

असार २९ मा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।