काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज (सोमबार) बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश खारेज गर्ने प्रस्ताव पेस हुने सम्भावना रहेको बताइएको छ । 

आइतबार सत्तागठबन्धनका शीर्ष नेताहरूबीचको बैठकले प्रधानममन्त्री देउवालाई तत्काल अध्यादेश खारेज गर्न आग्रह गरेको थियो। लगत्तै आजका लागि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसद्को अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ। अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।